देशभरका औषधि व्यवसायी आन्दोलित, हेटौंडामा पनि पसल बन्द हुने
देशभरका औषधि व्यवसायी आन्दोलित बनेका छन् । संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै व्यवसायीले आन्दोलन सुरु गरेका हुन् ।
औषधि ऐन २०३५ को संशोधनमा राखिएका प्रावधान अव्यावहारिक र अन्यायपूर्ण भएकाले तत्काल खारेजीको माग गर्दै औषधि व्यवसायी संघले देशभर आन्दोलनको घोषणा गरेको हो । संघको अगुवाई तथा नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ र नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको एक्यवद्धतामा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समिति’ को निर्णयानुसार प्रदेश देखि र स्थानिय स्तर सम्ममा विरोध कार्यक्रमहरू संचालन गर्न नेपाल औषधि व्यवसायी संघ केन्द्रले प्रदेशलाई पत्राचार गरेको छ ।
संघले नेपाल राजपत्रमा गत साउन १४ मा प्रकाशित औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ३ संशोधन र उपदफा ५ खारेजीको माग राख्दै संघर्षका कार्यक्रमहरू घोषणा गरेको हो । उक्त दफामा रहेका औषधि पसल/फर्म दर्ता नवीकरण म्याद सकिएको भोलिपल्ट देखि शतप्रतिशत जरिवाना र ३१ औँ दिनमा स्वतः व्यवसाय रद्द हुने प्रावधान राखिएकाले उक्त प्रावधानले व्यवसायीहरूलाई गम्भीर मर्का पारी व्यवसाय नै धरासायी बनाएको भन्दै अव्यावहारिक दफाहरूको संशोधन / खारेजीका लागि आन्दोलनको कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
संघको निर्णय अनुसार बागमती प्रदेश र मकवानपुर औषधि व्यवसायी संघले पनि विरोध कार्यक्रम आयोजना गर्ने जनाएको छ । केन्द्रीय कार्यालयको निर्णय अनुसार जिल्लामा पनि आन्दोलनको कार्यक्रम गरिने संघका महासचिव भरत कार्कीले बताए ।
राज्यको नीति नियमन गर्ने भन्दा पनि व्यवसायीलाई त्रसित बनाएर पलायन गराउने खालको भएको भन्दै संशोधित औषधि ऐन विरुद्ध मकवानपुर जिल्लामा पनि चरणवद्ध विरोध कार्यक्रम हुने उनले बताए ।
उनका अनुसार यो व्यवस्था संविधानको मर्म विपरीत र पेसागत सुरक्षामाथि नै धावा बोल्ने खालको भएकाले सरकारलाई त्रुटिपूर्ण प्रावधान सच्याउन मंसिर १० गतेसम्मको समयसिमा दिइएको तर सरकारले बेवास्ता गरेपछी आफुहरु आन्दोलनमा उत्रिनुपरेको हो ।
मकवानपुरका यस्तो छ आन्दोलनको कार्यक्रम
आइतबार- ११ देखि १२ बजेसम्म एक घण्टा औषधि पसल बन्द गरी कार्यस्थलमै सांकेतिक धर्ना ।
सोमबार- ११ देखि १ बजेसम्म दुई घण्टा औषधि पसल बन्द गरी कार्यस्थलमै सांकेतिक धर्ना ।
मंगलबार- ११ देखि २ बजेसम्म तिन घण्टा औषधि पसल बन्द गरी कार्यस्थलमै सांकेतिक धर्ना ।
प्रकाशित मिति : शनिबार, २०८२ मंसिर १३, १६ :३६ बजे




















प्रतिक्रिया