Techie IT
Hetauda Khabar

हेटौंडा एकेडेमीमा विद्यार्थीमाथि निर्मम कुटपिट- एउटै हात दुई ठाउँमा भाचियो


मकवानपुरको एक निजी विद्यालयका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका –११ स्थित हेटौंडा एकेडेमीमा कक्षा ६ मा अध्ययनरत १२ वर्षका सिर्जन उप्रेती घाइते भएका हुन् ।

विद्यालयका शिक्षक सरोज श्रेष्ठले कुटपिट गर्दा उनको बाँया हात दुई ठाउँमा भाँचिएको हो । सिर्जनका बुवा केदार उप्रेतीका अनुसार गएको फागुन २८ गते विद्यालयको अनुशासन नमानेको भन्दै सिर्जनमाथि शिक्षक सरोज श्रेष्ठले निर्मम कुटपिट गरेका थिए ।

कुटपिटपश्चात सिर्जनका बुवा केदारले विद्यालयका प्रधानाध्यापक गौरी चिमरियासमक्ष छोरालाई कुटपिट भएको गुनासो सुनाउन पुगेका थिए । विद्यालयले बेवास्था गरेपछि बुवा केदार आफैँ चुरेहिल अस्पताल र हेटौंडा मोडेल अस्पतालमा छोराको उपचारका लागि धाइरहेका छन् ।

‘अस्पतालले छोराको बायाँ हात दुई ठाउँमा भाँचिएको र स्टिल हाल्नुपर्छ भनेको छ । करिब १ लाख रुपैयाँ भन्दा बढी खर्च भइसक्यो, मसँग अब पैसा पनि छैन । छोरोको उपचार पनि पूर्ण रुपमा भइसकेको छैन,’ बुबा केदारले दुखेसो पोखे ।

त्यस्तै विद्यालयका गणित शिक्षक धनबहादुर विश्वकर्माले शुक्रबार सिर्जनका भाइ कक्षा ५ मा अध्ययनरत १० वर्षका संकल्प उप्रेतीमाथि निर्घात कुटपिट गरे । होमवर्क नगरेको भन्दै शिक्षकले कुटेपछि संकल्प पनि घाइते भएका छन् । उनको शरीरभरी निलडाम रहेको उनका अभिभावकले जनाएका छन् ।

विद्यालयकी प्रधानाध्यापक गौरी चिमरियाले विद्यार्थीमाथि निर्मम कुटपिट भएको स्वीकार गरिन् । ‘बालबालिकामाथि कुटपिट गर्ने हाम्रो नीति छैन । शिक्षकबाट कमजोरी हुन गएको हो । पीडितपक्ष समन्वय गर्न आउनुभयो भने हामी विद्यार्थीको उपचार गर्छौं,’ उनले भनिन् ।

अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित हेटौडा एकेडेमीमा विद्यार्थीहरुमाथि अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै दिनहुँ कुटपिट हुने गरेको अभिभावकको गुनासो छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट