Techie IT
  • ३ फागुन २०८२, आईतबार
Hetauda Khabar
  • ३ फागुन २०८२, आईतबार

चौघडा अस्पताललाई संचालन अनुमति दिँदा डाक्टरको प्रमाणपत्र हेटौंडा उपमहानगरपालिकाबाटै बिक्री !

उपमहानगरपालिकाका कर्मचारीले मेरो कागजपत्र बेचे, कानुनी प्रक्रियामा जान्छु- डा. देवकोटा


गैरकानुनी रूपमा सञ्चालित हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा हस्पिटललाई अनुमति दिँदा चिकित्सकको प्रमाणपत्र नै हेटौडा उपमहानगरपालिकाबाटै बेचिएको थाहा भएको छ।

ADVERTISEMENT

चौघडामा रहेको चौघडा हस्पिटल प्रालीलाई हेटौडा उपमहानगरपालिकाले गत साउनको १५ गते संचालन अनुमति प्रदान गरेको थियो। उक्त अस्पताललाई अनुमति दिँदा दुईजना चिकित्सक अनिवार्य देखाउनुपर्ने हुन्छ। तर उक्त चिकित्सकहरूको प्रमाणपत्र नगरपालिकाकै कर्मचारीले फर्जी तयार गरी पेश गरिएको पाइएको हो।

ADVERTISEMENT

अस्पतालमा चिकित्सकको कागजपत्रमा हाल विदेशमा रहेका दुईजना चिकित्सकको प्रमाणपत्र पेश गरिएको छ । हाल अमेरिकामा रहेका डाक्टर रविराज देवकोटा र हाल युकेमा रहेका मिलन खरेलको डकुमेन्ट पेश गरिएको हो । तर ती प्रमाणपत्र नगरपालिकाकै कर्मचारीले पेश गरिएको पत्ता लागेको छ ।

हेटौडाको उपमहानगरपालिकाकै सेटिङमा चौघडा अस्पतालले अनुमति पाएको थियो। तर उक्त अस्पताल हाल गैरकानुनी रुपमा सञ्चालनमा आइरहेको छ। हेटौडा उपमहानगरपालिकाको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका २०७६ मा उल्लेखित कुनै पनि मापदण्ड पूरा नभईकन अस्पतालले स्वीकृत भने पाइसकेको छ। तर अनुमति दिने बेलामा पेश गरिएको कागजातहरू सम्पूर्ण नक्कली भेटिएको हो।

ADVERTISEMENT

सम्बन्धित चिकित्सकलाई थाहा नै नदिई हेटौडा उपमहानगरपालिकाका कर्मचारीले उपमहानगरपालिकामा पहिले काम गरेका चिकित्सकको प्रमाणपत्र पेश गरेका हुन् । हाल चौघडा अस्पतालले बाहिरी व्यक्तिद्वारा बिरामीको उपचार गराइरहेको छ । त्यस्तै अस्पतालले सञ्चालन गरेको भनिएको फार्मेसीमा पनि फर्मासिस्ट बाहेकका व्यक्तिद्वारा औषधि बिक्री वितरण गर्ने गरिएको छ ।

त्यस्तै अन्य मापदण्डहरू पनि कुनै पनि पूरा नगरी अस्पताल सञ्चालन भइरहेको छ।

हाल अमेरिकामा रहेका डाक्टर रविराज देवकोटा ३ वर्षअघि कोरोनाको समयमा हटिया सहरी स्वास्थ्य केन्द्रमा हेटौडा उपमहानगरपालिकाकै करारका कर्मचारी रहेका थिए। हेटौडा उपमहानगरपालिकामै जागिर खाँदा उनको सम्पूर्ण कागजपत्र उपमहानगरपालिकामा बुझाइएको थियो । डक्टर देवकोटाले हेटौडा उपमहानगरपालिकामा २०७८ वैशाख १४ गते कर्मचारीका रूपमा नियुक्तिपत्र बुझेका थिए। त्यसबखत उनले आफ्ना सम्पूर्ण कागजपत्र हेटौडा उपमहानगरपालिकामा पेश गरेका थिए । तर हेटौडा ६ चौघडामा रहेको चौघडा हस्पिटल प्रालीलाई स्वीकृति दिँदा उपमहानगरपालिकाकै कर्मचारीले उनको कागजपत्र दुरुपयोग गरेका हुन् । यो हेर्नुहोस् उनको नियुक्ति पत्र ।

हाल अमेरिकामा रहेका डाक्टर देवकोटाले आफूले उक्त अस्पताल सञ्चालनका लागि आफूले कागजपत्र नदिएको बताएका छन्। उनले हेटौडा उपमहानगरपालिकाकै कर्मचारीबाट आफ्नो कागजपत्र बेचिएको आरोप लगाएका छन्।

‘त्यो अस्पताल अहिलेसम्म सञ्चालनमा छ या छैन मलाई जानकारी छैन, म त्यहाँको कर्मचारी पनि होइन र उक्त अस्पताललाई मैले कुनै कागजपत्र दिएको छैन, उनले भने, । ‘उपमहानगरपालिकाकै केही कर्मचारीको मिलेमतोमा मेरो सम्पूर्ण कागजात बेचिएको छ। म कानुनी प्रक्रियामा जाँदैछु। मैले उक्त हस्पिटलका सञ्चालकलाई समेत राम्रोसँग चिनेको छैन’ देवकोटाले भने।

‘उपमहानगरपालिकाका भोला चौलागाई लगायतले मेरो कागजपत्र बेचिदिएका हुन् कति लाखमा बेचे म सबैको हिसाब किताब गर्छु, उनले भनेका छन्, करोडौँ खर्चिएर मैले चिकित्सक विषय पढेको हुँ। मेडिकल काउन्सिलबाट प्राप्त प्रमाणपत्र अहिले दुरुपयोग भएको छ। उपमहानगरपालिकाकै कर्मचारीले मेरो सम्पूर्ण कागजपत्र बेचेका हुन् म उनीहरु विरुद्ध मुद्दा हाल्ने तयारीमा छु, अमेरिकाबाट उनले भने’, ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले नै चिकित्सकको प्रमाणपत्र बेचबिखन गरी सेटिङमा अस्पताल सञ्चालनका लागि अनुमति दिने गरेको खुल्न आएको छ । यसले हेटौंडाको स्वास्थ्य क्षेत्र कति कमजोर र असंवेदनशील रहेको छ, यो घटनाबाट स्पष्ट हुन्छ।

यस विषयमा हेटौडा उपमहानगरपालिकाले कुनै पनि प्रतिक्रिया जनाएको छैन । कुनै पनि स्वास्थ्य संस्था दर्ता गर्नु पूर्व हेटौडा उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गर्नुपर्ने हुन्छ, तर देखावटी अनुगमन गरी अस्पताललाई अनुमति दिइएको छ । अस्पताल सञ्चालन गर्दा भवनको मापदण्ड पनि पूर्ण रुपमा पालना गर्नुपर्दछ तर चौघडा हस्पिटलको भवनले कुनै पनि त्यस्तो मापदण्ड पूरा गरेको छैन।

अस्पतालका लागि चाहिने उपकरणहरू पनि मापदण्ड अनुसार छैन । अस्पताल निर्वात रुपमा गैरकानुनी रुपमा सञ्चालित छ। अस्पतालले अहिले बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको छ। यति हुँदा पनि सम्बन्धित स्थानीय सरकार मौन बसेको छ भने, स्थानीय प्रशासनले कुनै चासो दिएको छैन।

हेटौडा उपमहानगरपालिकाको स्वास्थ्य दर्ता तथा नवीकरण सम्बन्धी निर्देशिका २०७६ मा को दफा १५ को गुणस्तर सुनिश्चितता सम्बन्धी मापदण्डमा स्वास्थ्य संस्थाले दफा ३ बमोजिम स्वास्थ्य सेवा सञ्चालन गर्दा बहिरङ्ग विभागमा आउने बिरामीको चापका आधारमा बिरामी दर्ता विशेषज्ञ परामर्श दिनानात्मक सेवाहरू र औषधि कक्षमा छिटो छरितो सेवा दिने व्यवस्था मिलाउनुपर्नेछ भनेर उल्लेख गरेको छ।

त्यस्तै अस्पतालले आकस्मिक कक्ष सञ्चालन गर्दा अल्ट्रासाउन्ड एक्सरे इमेजिङ सेवा प्रयोगशाला ओपिडी ओटी तथा अन्य वार्डहरुमा समेत सजिलै बिरामी ल्याउन लैजान सकिने विलचेयर ट्रली स्टेचरको व्यवस्था मिलाउनु पर्नेहुन्छ । त्यस्तै चौबिसै घण्टा आकस्मिक सेवाको व्यवस्था मिलाउनुपर्नेछ भन्ने उल्लेख गरिएको छ। आकस्मिक सेवाका लागि दक्ष स्वास्थ्यकर्मी चौबिसै घण्टा र चिकित्सक अन कलमा उपलब्ध हुनुपर्ने व्यवस्था गरिएको छ ।

तर उक्त अस्पतालले कुनै पनि चिकित्सक राखेको छैन बिरामी आएका बेला विशेषज्ञ चिकित्सक बाहेककाले बिरामीको उपचार गर्ने गरेका छन् भने, मनलाग्दी हिसाबले औषधि सिफारिस गर्ने गरेको छ ।

अस्पतालबाट यतिसम्मको लापरवाही हुँदा समेत सम्बन्धित सबै निकाय मौन बसेका छन् ।


प्रकाशित मिति : बिहिबार, २०८१ माघ ३, ११ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट