Techie IT
Hetauda Khabar

हेटौंडा सडक विस्तार नरोकिने, भ्रममा नपर्न सडक कार्यालयको आग्रह


डिभिजन सडक कार्यालय हेटौंडाले हेटौंडा बजार क्षेत्रको सडक विस्तार नरोकिने बताएको छ ।

पछिल्लो पटक प्रकाशित सूचना अनुसार नै ३५ दिनपछी तोकिएको सडक सीमाभित्रका संरचना हटाउन सुरु गर्ने डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर यादव सुवेदीले बताए ।

हेटौंडाका केही घरधनीको हकमा भने सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  विजयलाल जोशीले पेस गरेको रिट निवेदन माथि सोमबार भएको बहसमा सर्वोच्च अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश गरेको हो । जोशीले गत साउन ४ गते सर्वोच्चमा दर्ता गराएको  मुद्दामा न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले सडक विस्तारको विषयमा १५ दिन भित्र लिखित जवाफ माग गर्दै  छलफलको लागि बोलाएको छ ।

सडक कार्यालयले भने मुद्दा परेर आदेश भएका घरको हकमा अदालतकै आदेशानुसार गर्ने तर सडक विस्तारको काम भने नरोक्ने जनाएको छ ।

“सर्वोच्च अदालतले बोलाएको छ, २ जना घरधनीका लागि अल्पकालीन आदेश आएको हो, हामी सोहीअनुसार उपस्थित हुनेछौं, यो समग्र हेटौंडाबजार संग जोडिएको आदेश होईन काम रोक्दैनौं, भ्रममा नपर्न आग्रह गर्छौं “, सुवेदीले भने ।

डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते महेन्द्र राजमार्गको हेटौंडा स्थित रातोमाटे-बुद्धचोक, राप्तीपुलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन भन्दै सुचना प्रकाशित गरेको थियो । सडक कार्यालयको सुचनामा तोकेको मिति साउन १५ गते सकिदै छ । ३५ दिनको समयसीमा सकिएलगत्तै हेटौंडाको मुख्य बजार विस्तार कार्य सुरु गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछी यहाँका केहि घरधनीले अदालतमा रिट दायर गरेपछी अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्धामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो ।

अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको छ । २५ गज भन्नाले २२ दशमलब ८६ हुन्छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #सडक डिभिजन हेटौंडा, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट