Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुरमा लघुवित्तको आतंकले महिलाहरुको उठिबास

परिवारलाई नै दिनहुँ धम्की दिने गरेको पिडितको गुनासो


लघुवित्तबाट ऋण लिएर दैनिक जीवन सहज बनाउने लक्ष्य लिएका मकवानपुरका महिलाहरु ऋणकै कारण समस्यमा परेका छन् । लघुवित्तको चर्को ब्याज र घुमाउरो अशुली प्रक्रियाका कारण सामान्य ऋणकै कारण कतिको घरबार गएको छ, कतिको डिभोर्स भएको भने कति लघुवित्तकै कारणले उठिबास लागेर जंगलमा छाप्रो हालेर बस्न बाध्य भएका छन् । लघुवित्तकै कारण बस्ने नसक्ने अवस्था सृजना भएपछि महिलाहरु सडक संघर्षमै उत्रन बाध्य बनेका छन् ।

ADVERTISEMENT

हेटौंडामा आज लघुवित्तबाट पीडतहरुले जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरे । मकवानपुरमा मात्र पाँचसय बढि लघुवित्तबाट पीडत  महिलाहरु लघुवितीय संस्था संघर्ष समितिको सम्पर्कमा आइसकेका छन् । तीमध्येका एक हुन्, मकवानपुरको बागमती गाउँपालिका ७ की माया योन्जन । साधना माइक्रोफाइनान्सबाट एक वर्ष अघि दुई लाख रुपैयाँ ऋण लिएकोमा उक्त ऋण तिर्न नसक्दा फाइनान्सले घर लिलामी गरेको छ । उनको परिवार जंगलमा झुपडी हालेर बसेको छ ।

ADVERTISEMENT

उनीजस्ता सयौं महिलाहरु अहिले मानसिक र आर्थिक तनावमा छन् । परिवार र लघुबित्तको दवाबका कारण धेरै महिलाहरु पीडित भएका छन् । स्वतस्फुर्त पीडित महिलाहरुले मंगलबार हेटौंडामा र्‍याली निकालेका छन् । उनीहरुले लघुवित्तीय संस्थाहरु खारेजी, त्यस्ता संस्थाबाट लिइएको सामुहिक ऋण मिनाहाको माग गरेका छन् ।

हेटौंडा १३ की उर्मिला बिकले तीन लाख ४५ हजार ऋण लिएकोमा तीन लाख २० हजार तिर्दा समेत तीन लाख ८५ हजार ऋण बाँकी छ । उनीहरुको घर जग्गा लिलामी गर्ने भन्दै लघुवित्तले दैनिक धम्की दिने गरेको छ । मकवानपुरकै सोममाया घलानको पनि उस्तै पिडा छ । लघुवित्तले दिएको मानसिक तनाबका कारण उनि धेरैपटक आत्महत्याको प्रयास पनि गरिन्  ।  दिनहुँको धम्कि सहन नसकेर घरमा सम्बन्ध विच्छेदसम्मको कुरा सहनुपरेको छ उनले ।

ADVERTISEMENT

बागमती प्रदेशभित्र करिब तीन लघुवित्त पीडित सम्पर्कमा रहेको संघर्ष समितिले जनाएको छ । देशभर ३३ लाख लघुवित्त पीडित रहेको अनुमान छ । उनीहरुले लघुवित्तको ज्यादती बिरुद्ध आन्दोलन थालेका हुन् ।

लघुवित्तको ऋण असुली प्रणाली र दवाबका कारण धेरै महिलाहरुले मानसिक तनाव ब्यहोरेको र कतिपयले आत्महत्या समेत गरिसकेका छन् ।विशेषगरी लघुवित्तहरुले सुरुमा अनेक प्रलोभन र आश्वासन देखाउने र समुह बनाइ ऋण दिने र ऋण तिर्न नसकेपछि महिलाका गरगहना र गोठमा भएका वस्तु नै लगिदिनेसम्मको हर्कत गरेको विभिन्न जिल्लाका लघुवित्तका पिडितहरु बताउँछन ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक मसान्तसम्म ७७ वटै जिल्लामा लघुवित्त संस्थाहरुको सेवा पुगेको छ । पहुँचमा विस्तार हुँदा करिब ५९ लाख घरपरिवारले लघुवित्त सेवा लिएका छन । तीमध्ये करिब ९७ प्रतिशत महिला छन । यस्तै, करिब ३३ लाख ३१ हजार ऋणीले लघु कर्जा लिएका छन । ऋणीमध्ये पनि करिब ९७ प्रतिशत महिला छन । तर ग्रामिण क्षेत्रमा ठुलो समस्याको रुपमा देखिएको लघुवित्त संस्थाको आतंकले उग्ररुप लिँदा लाखौँको घरबार उठिबास लागेको छ तर यस बारे सरकार भने अझैसम्म मौन रहेको छ ।


प्रकाशित मिति : मङ्लबार, २०७९ फाल्गुन १६, २१ :०० बजे
ट्याग : #आतंक, #जिल्ला प्रशासन मकवानपुर, #मकवानपुर, #लघुवित्त

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट