Techie IT
Hetauda Khabar

हेटौंडाको माछाप्लानको नाममा रहेको १३ बिघा सरकारी जग्गा व्यक्ति र क्लबद्वारा अतिक्रमण


माछाप्लान भनेर चिनिने हेटौंडा स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाको नाममा रहेको जग्गा र भवन अतिक्रमण भएको खुलेको छ । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडा –५ को नाममा रहेको ४९ हेक्टर जग्गा मध्य १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको खुलेको हो ।

मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाले आफ्नो अतिक्रमित भएको जग्गाको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जेष्ठ ८ गते जानकारी गराएको पत्र अनुसार कित्ता नं. ९६ को ८ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निमार्ण , हेल्थ पोष्ट र कार्यालयको भवन समेत अतिक्रमण गरि रेष्टुरेन्ट सञ्चालन गरिएको जनाएको छ ।
पत्र अनुसार कित्ता नं. ९६ को २ कठ्ठा १.५ धुर अतिक्रमित जग्गामा उद्धव चौलागाईंले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन् भने सनम श्रेष्ठले १ कठ्ठा १.५ धुर जगमा जस्ताकै टहरा बनाइ रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको उल्लेख छ ।

त्यसैगरी कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दंगालले क्रमश : १ कठ्ठा १२ धुर, १ कठ्ठा ३ धुर, २ कठ्ठा ५ धुर सरकारी जग्गा अतिक्रमण गरि भौतिक संरचना निर्माण गरि रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको खुलेको हो ।

जितलाल महर्जनले  १ कठ्ठा ३ धुर जग्गा अतिक्रमण गरि जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन्, भने प्रेमबहादुर परियारले १ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रको भवन नै अतिक्रमण गरि कुखुरा पालन गरेको तथ्य बाहिर आएको छ ।

त्यसैगरी कार्यलयले प्रशासन कार्यालयलाई पठाएको पत्र अनुसार कालु स्याङ्तान र पदम बहादुर खड्काले १ कठ्ठा ५ धुर र २ कठ्ठा चार धुर जग्गा अतिक्रमण गरि रेष्टुरेन्ट सञ्चालन गरिरहेको बताएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाका नाममा रहेको ४९ हेक्टर जग्गा मध्य नापी कार्यलय र मालपोत कार्यालय हेटौंडाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिएको पाइएको छ ।

सरकारी जग्गालाई ८/९ धुरमा विभाजन गरि १० जनाको नाममा पास भएको पाइएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा प्रमुख सरोज कुमार यादवले बताए । व्यक्तिको नाममा सरकारी जग्गा पास भएको विषयमा मालपोत कार्यलयलाई जानकारी गराएको यादवले बताए ।

मत्स्य केन्द्रको जग्गा नापजाँच गर्न नापी कार्यालय हेटौंडालाई पत्र पठाएको यादवको भनाई छ । नापी कार्यालयले जग्गाको नापजाँच गरेपछि मात्र केन्द्रको कति जग्गा अतिक्रमण भएको हो, भन्ने वास्तविक तत्थ्य थाहा हुने उनले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #अतिक्रमण, #मकवानपुर, #मालपोत कार्यालय हेटौंडा, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट