Techie IT
Hetauda Khabar

हेटौंडा अस्पतालमा २ दशकदेखि ५० शैयाको दरबन्दी, २ सय बेडको बनाउन किन रोक्यो मुख्यमन्त्री कार्यालयले ?

न केन्द्रले उपक्षेत्रिय अस्पताल बनायो, न प्रदेशले क्षमता बिस्तार गर्यो


हेटौंडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरिन् । संघीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण भएको नयाँ भवन केही महिना अघिमात्र संचालनमा आएको थियो ।

२०१६ सालमा १५ शैयाबाट सेवा शुरू भएको हेटौंडा अस्पताल २०२२ सालमा जिल्ला अस्पतालमा स्तरोन्नति भएको थियो। हेटौंडा अस्पताल विकास सेवा समितिको गठन भएपछि भने ५० शैया सञ्चालन हुँदै आयो। सरकारले आर्थिक वर्ष २०६१/६२ सालमा उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति गरेको थियो। तर‚ उपक्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेकाले २०७१ असार २० को मन्त्रिपरिषद्को निर्णयले ५० शैया कायम गरी सोही अनुसार दरबन्दी स्थापना भई पदपूर्ति भइरह्यो । र त्यो क्रम अहिले बागमती प्रदेशको राजधानी भैरहदासमेत उस्तै छ । हाल हेटौंडा अस्पतालको दरबन्दी ५० कै छ ।

मंगलबार उद्घाटन गरिएको नयाँ भवन र पुरानो भवन गरी २०० बेड संचालन भैरहेको अस्पताल प्रशासनले बताएको छ । तर हेटौंडा अस्पतालमा सरकारको दरबन्दी भने ५० बेडको मात्र छ । अस्पतालमा अहिले तत्कालीन विकास समितिको ६० शैया र सरकारको ५० शैया, नयाँ भवनको ७० शैया तथा अतिरिक्त २० शैया थप गरी २०० शैया सञ्चालनमा रहेको छ ।  प्रदेश राजधानीको एकमात्र सरकारी अस्पताल जम्मा ५० शैयाको दरबन्दी रहदा पनि यसलाई बढाउन प्रदेश सरकारले कुनै पहल गरेको छैन ।

पुर्व मुख्यमन्त्री डोरमणि पौडेलका पालामा अस्पताललाई प्रतिष्ठान मोडलमा लाने निर्णय गरीयो र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा राखेर सेवा संचालन गरियो । प्रतिष्ठान बनेपछी अस्पतालका सेवा सुविधा केहि थप त भए तर त्यसपछिका सरकारले प्रदेश राजधानीको अस्पताललाई बेवास्था गरे ।

अस्पताल विकास समिति र सरोकारवाला निकायले पटक-पटक अस्पतालको क्षमता बिस्तार गर्न सरकारलाई अनुनय गर्दा पनि हालसम्म अस्पतालको क्षमता वृद्धि हुन सकेको छैन । राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा हेटौंडा अस्पतालको क्षमता बिस्तार गर्नको लागी सम्पूर्ण मापदण्ड पुरा भएको र २०० शैया बनाउनको लागि प्रस्ताव लागिएको थियो । तर उक्त प्रस्ताव मुख्यमन्त्री कार्यालयमा थन्किएको छ । बिभिन्न राजनीतिक र आफ्नो जागिरको स्तरुन्नतीको स्वार्थले अस्पतालको फाइल सचिवले अघि नबढेको स्रोतले बताउछ ।

प्रदेशमा ३ सय क्षमताको अस्पतालका लागी प्रदेश सरकारले अनुमति दिनु पर्दछ ।  राजधानीकै सबै मापदण्ड पुरा भएको अस्पताललाई सरकारले किन अनुमति दिदैंन ? यसमा शंका गर्न सकिन्छ अस्पताल स्रोतको भनाइ छ ।

अहिले हेटौंडा अस्पतालको क्षमता नै नभएपनि दैनिक ७ देखि ८ सय सम्म बिरामीको उपचार हुँदै आएको छ । सरकारी दरबन्दीका कर्मचारी,स्वास्थ्यकर्मी निकै कम मात्रामा छन् । समिति र प्रतिष्ठानतर्फका स्वास्थ्यकर्मीले अहिले हेटौंडा अस्पताल चलेको छ । यसतर्फ प्रदेश सरकारले कुनै ध्यान दिएको छैन  ।

प्रदेश स्वास्थ्य सेवा नियमावलीमा उल्लेख भए अनुसार बागमती प्रदेश सरकारले २ सय शैयासम्मको अस्पताल संचालन अनुमति दिनेछ । आफ्नै नियमावलीमा सयदेखि २ सय शैयाको लागि चाहिने विभिन्न मापदण्ड हेटौंडा अस्पतालमा पुरा छन् । तर अस्पतालको क्षमता बिस्तार हुन नसक्दा सरकारी दरबन्दीका चिकित्सक निकै न्यून छन् । जसले गर्दा अहिलेको बिरामीको उच्च चापमा छिटो र सहज तरिकाले बिरामीले सेवा पाउन सकेका छैनन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट