Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरूले बालेनलाई बुझाए पत्र


काठमाडौं महानगरपालिकाभित्रका शिक्षकहरूले पाँच महिनादेखि तलब नपाएको भन्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई पत्र बुझाएका छन् ।

ADVERTISEMENT

मंगलबार नेपाल शिक्षक महासंघ महानगर समितिले महानगरलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ADVERTISEMENT

करिब तीन महिनादेखि महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर अन्तर्गतका कर्मचारीले तलब पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विवादका कारण कर्मचारीले तलब नपाएका हुन् ।

तीन महिनादेखि नै महानगरका मेयर बालेन, उपमेयर सुनिता डंगोलसहित तीन हजार ६०० कर्मचारीले तलब पाएका छैनन् ।

ADVERTISEMENT

महानगरका कर्मचारीमध्ये ७०० भन्दा बढी शिक्षक छन् । भोको पेटले विद्यार्थी पढाउन नसकिने भन्दै शिक्षकहरूले चाँडै तलब पाउने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

“काठमाडौं महानगरपालिका शिक्षा विभागबाट विद्यालयहरूमा तलब निकासा नहुँदा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पाँच महिनादेखि तलब पाउन सकेका छैनन्,” शिक्षकहरूले महानगरलाई बुझाएको पत्रमा भनिएको छ, “लामो समयदेखि तलब नपाउँदा शिक्षकहरू कोठा भाडा तिर्न नसकेर, दैनिक उपभोग्य अत्यावश्यक सामग्री खरिद गर्न नसकेर, नियमित औषधि उपचार गर्न नपाएर समस्यामा पर्नुभएको छ ।”

तलबविना भोको पेटले शिक्षकहरूले नियमित कार्यसम्पादन गर्नसमेत नसक्ने अवस्था आएको महानगर समितिले जनाएको छ ।

विद्यालयको दैनिक प्रशासन सञ्चालनमा असर पुगेकाले सम्पूर्ण भुक्तानी गर्ने व्यवस्था मिलादिन शिक्षकहरूले आग्रह गरेका छन् ।

उनीहरूले उपमेयर सुनिता डंगोलको पनि ध्यानाकर्षण गराएका छन् ।

पुस ८ देखि १७ सम्म बिदामा रहेका गुरागाईंमाथि छानबिन समिति गठन भएकाले कार्यालय नआउन भन्दै महानगरले अनौपचारिक जानकारी गराएको थियो ।

बिदा सकिएपछि गुरागाईं कार्यालय हाजिर हुन खोज्दा महानगरले उनको कार्यकक्षमा ताला लगाइदिएको थियो ।

गुरागाईंले निमित्त कार्यकारीको जिम्मेवारी शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्मालाई दिएका थिए । तर, शर्माले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका थिए ।

हाल महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नुरनिधि न्यौपाने छन् । न्यौपानेलाई आर्थिक अधिकार दिन बालेनले मन्त्रालयलाई अनुरोध गर्दै पत्र पठाउँदा पनि सरकारले अनुमति दिएको छैन ।

भुक्तानीका लागि पेस भएको एक अर्बभन्दा बढी बजेट वित्त विभागमै थन्किएको महानगरले जनाएको छ ।


प्रकाशित मिति : बुधबार, २०८१ चैत्र १३, १२ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट