Techie IT
Hetauda Khabar

हेटौंडा १४ का वडाध्यक्ष खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार, माफी मागेर सच्चिन महासंघको चेतावनी


हेटौडा उपमहानगरपालिका-१४ का वडाध्यक्ष दीपक खड्‌काले समाचार संकलनका क्रममा रहेका हेटौंडाका दुई जना पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

मंगलबार सौर्य दौनिकका मकवानपुर सम्बाददाता छवि अनित्य र हिमालय टाइम्सकि मन्जिता मैनालीमाथि वडाअध्यक्ष खड्काले दुर्व्यवहार गरेका हुन् ।

वडाका एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाई सम्बन्धी समाचार संकलनका क्रममा प्रतिक्रिया लिन मंगलबार वडा कार्यालय पुगेका सञ्चारकर्मीहरूलाई वडा अध्यक्ष खड्‌काले गाली गलौच गर्दै सञ्चार उपकरण नियन्त्रणमा लिने र धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

‘समाचारको विषयमा वडामा पुग्दा अध्यक्ष ज्युले तिमीहरुलाई यहाँ आउन दिन्नौं भन्नुभयो, हामीले यो त सार्वजनिक ठाउँ हो नि भनेपछी हाम्रा संचार सामग्री खोस्ने काम भयो,’ पत्रकार छवी अनित्यले भने । आफुहरुमाथि दुर्व्यवहार भएपछी पत्रकारद्वय अनित्य र मैनालीले वडा अध्यक्षविरुद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने बताएका छन् ।

पत्रकारमाथि वडाका जनप्रतिनिधिले नै दुर्व्यवहार गरेको भन्दै सञ्चार सम्वद्ध संघसंस्थाले ध्यानाकर्षण जनाएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर, प्रेस युनियन, प्रेस सेन्टरलगायतका संचार पत्रकार संगठनहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वडाध्यक्ष खड्‌काको व्यवहारप्रति आपत्ति जनाएका हुन् ।

पत्रकारमाथि भएको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ मकवानपुरले घोर भर्त्सना गरेको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा वाक स्वतन्त्रताको रक्षाप्रति सचेत र कटिवद्ध हुन स्थानीय सरकार र जनप्रतिनिधिलाई यसै विज्ञप्तिमार्फत् ध्यानाकर्षणसमेत गराउँदछौं । ‘स्वतन्त्र प्रेसप्रतिको कुनै पनि किसिमको हस्तक्षेप पत्रकार महासंघलाई स्वीकार्य नभएको भन्दै घटनाप्रति आत्मालोचना गरी माफी माग्दै आगामी दिनमा यस्ता कार्य नगर्न वडाध्यक्ष खड्‌कालाई महासंघले चेतावनी दिएको छ ।

प्रकाशित समाचार सामाग्रीप्रति कुनै गुनासो या समस्या भए कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि दुर्व्यवहार तथा गाली गलौजमा उत्रनु निन्दनीय भएको नेपाल प्रेस युनियन मकवानपुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सञ्चारकर्मीलाई सहज वातावरणमा समाचार संकलनको वातावरण बनाउन युनियनले आग्रहसमेत गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट