Techie IT
Hetauda Khabar

सूचना लुकाउन खप्पिस छ हेटौंडा उपमहानगरपालिका


हेटौंडा उपमहानगरपालिकाको कार्यालयले सूचना लुकाउने गरेको छ ।

नेपालको संविधान २०७२ को धारा २७, सूचनाको हक सम्बन्धी ऐन २०६४ नियमावली २०६५ र सोको कार्यवधि २०७२ बमोजिमको सूचना दिनुपर्नेमा हेटौंडा उपमहानगरपालिकाले माग गरेका सूचना नदिएर सूचनाको हकलाई नै बन्देज गर्ने कार्य गरेको हो  ।

हेटौंडा उपमहानगरपालिका भित्रका विविध जनचासोका विषयमा कसैले सूचना माग गर्दा उपमहानगरले विभिन्न बाहाना बनाई सूचना लुकाउने कार्य गरेको पाइएको छ ।

सम्बन्धित क्षेत्र भित्र हुने गरेका गतिविधि र सार्वजनिक चासोका विषयलाई लिएर आम नागरिकले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम निवेदन दिएको खण्डमा सम्बन्धित कार्यालयले समय  भित्र सूचना उपलब्ध गराउनु पर्ने प्रावधान भएपनि हेटौंडा उपमहानगरपालिकाले सूचना लुकाउने गरेको छ ।

गत चैत ५ गते हेटौंडाको हुप्रचौरमा निर्माण गर्ने भनिएको र ठेक्का सम्झौतासमेत भैसकेको बासुदेव सभागृहको व्यवसायिक भवन सम्बन्धि सूचना माग गरिएकोमा महिनौ बित्दासमेत उपमहानगरले सूचना दिन आनाकानी गरेको छ ।

उपमहानगरका सूचना अधिकारी भानुभक्त थपलियाले सम्बन्धित (पूर्वाधार विकास महाशाखा) लाई माग गरिएको सूचना उपलब्ध गराउन पटक-पटक ताकेता गरेपनि शाखाबाट सूचना नदिएकाले सूचना उपलब्ध गराउन नसकिएको भन्दै पन्छिने गरेका छन् ।

उता पूर्वाधार विकास महाशाखाका प्रमुख सत्य नारायण शाहले भने सूचना उपलब्ध गराउने भन्दै महिनौ सम्म दुख दिने गरेका छन् । आम जनचासोको विषयको सूचना माग्दासमेत शाहले सूचना लुकाउदा हेटौंडा उपमहानगरपालिकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यस विषयमा मात्र होइन हेटौंडा उपमहानगरपालिकाले अन्य कुनै विषयको सूचना माग गर्दापनि कुनैपनि सूचना दिने नगरेको गुनासो छ । सूचना माग गर्दापनि यसरी सूचना लुकाउने काम गर्नुले उपमहानगरले सूचनाको हक सम्बन्धि ऐनलाई बन्देज गर्न खोजेको देखिन्छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट