Techie IT
Hetauda Khabar

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री


काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए ।

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे ।

प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए ।  “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।”

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए ।

“हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् ।”

‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे ।

“चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।”

व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे ।

“विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।”

उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो  प्राथमिकता हुने स्पष्ट पारे ।

बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट