Techie IT
Hetauda Khabar

कालो ब्यानरमा झुण्डियो इन्द्र बानियाँको तस्बिर, माननीय ठेकेदार ज्यू पुल कहिले बन्छ ?


मकवानपुरको मनहरीमा पुल निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदार, नदीजन्य पदार्थको राजश्व मिनाहा, पाडापाडी वितरणमा अनियमितता र निर्माणाधिन मनहरी अस्पतालमा कमसल सामाग्रीको प्रयोग हुँदापनि नदेख्ने गाउँपालिकाका अध्यक्षको फोटो व्यानर बनाएर पाँच दलले बिरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकिकृत समाजवादी पार्टीले मनहरीमा पुल कहिले बन्छ? ढिलासुस्ती कैलेसम्म ? प्रश्न गर्दै विरोध प्रदर्शन गरेकाहुन् ।

मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँ सहितका फोटोहरु व्यानरमा राखेर प्रर्दशन गरिएको हो । ब्यानरमा लेखिएको छ’ ‘माननीय ठेकेदार इन्द्र बहादुर बानियाँ ज्यू यो पुल कहिले बन्छ’ । काँग्रेस बागमती प्रदेश समितिका सभापति तथा मकवानपुर क्षेत्र नं २ को क प्रदेश क्षेत्रका सांसद रहेका बानियाँको निर्माण कम्पनिले मनहरीको पक्की पुल निर्माण गर्ने ठेक्का पाएको थियो ।

बानियाँसँगै अर्का ठेकेदारहरु शिव चौलागाईँ र मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको तस्वीर समेत कालो ब्यानरमा फोटो उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष कालाखेतीलाई भने निजी सवारी साधनमा सरकारी ढुकुटी खर्च गर्न पाइन्छ ? भन्दै प्रश्न गरिएको छ ।

त्यसैगरी ‘मनहरी गाउँपालिकाभित्रको ढुंगा, गिटी बालुवाको राजश्व मिनाहा गर्ने अधिकार कसले दियो ?’, ‘पाडापाडी बितरण कार्यमा भएको भ्रष्टाचारको छानबीन प्रतिवेदन कहिले सार्बजनिक हुन्छ ?’ भन्ने प्रश्नसहित मनहरी अस्पताल निर्माण कार्यमा कमसल निर्माण सामग्रीको प्रयोग गरिएको बिषय कालो ब्यानरमा लेखिएको छ ।

पुल निर्माण गर्नका लागि ठेक्का लिएपनि काममा धेरै ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै पाँच दलले बिरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो रोखेर प्रर्दशन गरेका हुन् । काम सम्पन्न नगरी अलपत्र पारेको निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरेको नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।

मनहरी गाउँपालिकामा बढ्दो अनियमितताका विषयमा पाँच राजनैतिक दलहरुले ध्यानाकर्षण गराए पनि पालिकाले कुनैपनि चासो नदेखाएकाले ठेकेदारको फोटो सहित पाँच दलले बिरोध प्रर्दशन गरेको बताइएको छ ।

मनहरी गाउपालिकामा भैरहेको योजनाहरूको ढिला सुस्ति, पाँच वटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा भइरहेको निरन्तरको अनियमितता लगायतका विषयमा पाँच राजनैतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराईए पनि चासो नदिएपछी चरणबद्ध आन्दोलनमा उत्रिएको अध्यक्ष सुवेदीले बताए  ।

मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदिजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट