Techie IT
Hetauda Khabar

हेटौंडामा आजदेखि एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता


हेटौंडा । हेटौंडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी १२० खेलाडीको सहभागिता रहनेछ ।

स्विस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेलहरू नवौँ राउन्डसम्म हुनेछ । सहभागी खेलाडीले १० हजार रुपियाँ दर्ता शुल्क तिर्नुपर्ने र खेलाडीलाई खान र बस्ने सुविधा आयोजकले व्यहोर्ने नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपियाँ हात पार्नेछ ।

यस्तै चौथोलाई २५ हजार, पाँचौँलाई २० हजार र छैटौँ देखि १०औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । ११औँ देखि १५औँ स्थानमा अटाउने खेलाडीलाई पनि जनही ११ हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने महासचिव लामाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख १२ हजार रुपियाँ खर्च हुने आयोजक मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष श्रेष्ठले बताए।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट