Techie IT
Hetauda Khabar

राजनीतिक पावरका आडमा हेटौंडामा ड्युटीका प्रहरी कुट्नेलाई उन्मुक्ती


पावर र राजनीतिक आडमा ड्युटीमा खटिएका प्रहरीलाई कुटेपनि केहि हुँदैन भन्ने उदाहरण हेटौंडामा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सामान्य विवाद र प्रहरीसंग आँखा जुधाएर कुरा गरेको भरमा नियन्त्रणमा राखेर कारबाही गरेको र मुद्दासम्म चलाएको थुप्रै उदाहरण छन् । सामान्य नगरीकलाई चाहिने भन्दा बढी दुख दिने र कारबाहीको दायरामा ल्याउन खोज्ने मामिलामा मकवानपुर प्रहरी अलि अगाडी छ भन्दा फरक पर्दैन ।  तर राजनीतिक पहुच र पावरको आडमा ड्युटीमै खटिएका प्रहरीलाई रगत निस्किने गरी कुट्दासमेत केही गर्न नसक्ने अवस्थामा प्रहरी पुग्दो रहेछ भन्ने गतिलो उदाहरण हेटौंडामा देखिएको छ ।

घटना शनिबार रातीको हो । हेटौंडामा शनिबार राती हेटौंडा-१८ जलारी भन्ने स्थानमा मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दियो । साइकल चालक घाइते भए । दुर्घटना भएको खबर प्राप्त भएपछी प्रहरी चौकी ठुलोदमारका प्रहरी हवल्दार देवी प्रसाद देवकोटासहितको प्रहरी टोली दुर्घटनास्थलमा पुगे।

ठक्कर दिने चालक र मोटरसाइकल स्थानीयले लुकाएपछी प्रहरीले खोजतलास गर्न थाल्यो । घटनाबारे थप बुज्न खोज्दा मादक पदार्थ सेवन गरेका स्थानीय जित बहादुर आधिकारी ड्युटीमा खटिएका प्रहरीमाथि जाइलागे । अधिकारी र उनको समुहले हवल्दार देवकोटामाथि आक्रमण गरे । आक्रमणबाट हवल्दार देवकोटा घाइते भए । उनको मुखमा चोट लागेको छ ।

प्रहरीलाई आक्रमण गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा भएका उनले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको भान्जा हुँ, एक घन्टामा छुट्छु भन्दै चुनौती दिए ।

प्रहरी कुट्ने जित बहादुरलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याइयो, यतिबेला रातको ११ बजिसकेको थियो मुख्यमन्त्रीको भान्जा बताउने अधिकारीको हेटौंडा अस्पतालमा चेकजाँच हुँदा उनले मापसे गरेको पुष्टि भयो । उनलाई छुटाउन हेटौंडा-१८ का वडाध्यक्ष अनिल बानियाँ रातिनै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनले प्रहरी कुट्ने अधिकारीलाई तत्कालै छुटाउन निकै जोडबल गरेका थिए । तर रात अबेर भैसकेकाले अधिकारीलाई प्रहरीले हिरासतमै राख्यो ।

आइतबार सबेरैदेखि उनलाई छुटाउन वडाध्यक्ष बानियाँ जिल्ला प्रहरी परिसरमै धर्ना दिएर बसे र चौतर्फी दवाब थेग्न नसकेपछि आफ्नै प्रहरी हवल्दार कुटेका जित बहादुर अधिकारीलाई एसपी बामदेव गौतमले छाडिदिए ।

मकवानपुर प्रहरी प्रमुख एसपी बामदेवले भने आफुलाई कतैबाट दवाब नआएको बताउछन् । प्रहरीसंगको यस्ता घटना दैनिक सामान्य जस्तै हो, खासै ठुलो घटना हैन, कतैबाट दबाब आएर छाडिएको हैन, उनले बताए ।

तर प्रहरी प्रमुख गौतमले यस्तो प्रतिक्रिया दिएपनि प्रहरीका लागि भने यो सामान्य घटना थिएन । सामान्य विवादमा आम नागरिकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्ने प्रहरीले ड्युटीमा खटिएका आफ्नो हवल्दारलाई रक्ताम्य हुनेगरी आक्रमण गर्नेलाई सामान्य कारबाहीसमेत नगरी छोडेको छ ।

जित बहादुरले घटनास्थलमा प्रहरीलाई दिएको चुनौती २४ घण्टा पुग्न नपाउदै पुरा भएको छ । उनले मुख्यमन्त्री शालिकराम जमकट्टेलको भान्जा हुँ भनेका थिए । नभन्दै प्रहरीले उनलाई २४ घण्टा नहुँदै केहि नगरी छाडेको छ । स्रोतका अनुसार प्रहरीमाथि आक्रमण गर्ने युवा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको मितेरी साइनो रहेको बुझिएको छ । उनलाई नियन्त्रममा लिएदेखि छोड्नको लागि प्रहरीलाई चौतर्फी दवाब आएको थियो ।

यसरी यो घटनाले राजनीतिक आड र पावर चल्नेको जेपनि चल्छ भन्ने गतिलो उदाहरण छर्लङ्ग बनाएको छ । ड्युटीमा खटिएको प्रहरीमाथि नै आक्रमण हुँदासमेत प्रहरी प्रशासन निरिह बनेको छ । यस घटनाले राजनीतिक पावर पुगे जेपनि हुने रहेछ भन्ने आम नागरिकमा नराम्रो छाप पारेको छ भने प्रहरी प्रशासनको तल्लो दर्जाका कर्मचारीको मनोबलसमेत गिराएको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट