Techie IT
Hetauda Khabar

हेटौंडामा डाक्टर कुटपिट प्रकरण : सामूहिक राजीनामा दिने तयारी


हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै मकवानपुरका स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन् ।

अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार भएको कुटपिटको घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । घटनामा संलग्न दोषीलाई पक्राउ नगरे शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित हेटौँडा अस्पतालमा बिहीबार भएको स्वास्थ्यकर्मीहरूको भेलामा घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएमा सामूहिक राजीनामासँगै शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका हुन् ।

शान्ति सुरक्षा कमजोर भएका कारण उक्त घटना हुन गएको बताउँदै सुरक्षाको प्रत्याभूति नभएका कारण बुधबार जाहेरी दिने अवस्था नरहेको र घटनामा संलग्न भएकाहरू प्रहरी कार्यालयमा नै आएर धम्की दिँदासमेत प्रहरी मूकदर्शक बनेकोप्रति स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमक्ष आक्रोश व्यक्त गरेका थिए ।

हेटौँडा अस्पतालको सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले स्वास्थ्यकर्मी असुरक्षित बनेको भन्दै एक महिना अघिभएको मृत्यु घटनामा कुटपिट गरेर प्रहरी कार्यालय परिसरमा कुटपिटमा संलग्न भएकाहरू आउँदासमेत पक्राउ नगर्नु प्रहरीको चरम लापरबाही भएको बताउनुभयो ।

उहाँले सुरक्षा अवस्था कमजोर रहेको र सुरक्षाको प्रत्याभूति नभएका कारण सबै चिकित्सकले सामूहिक राजीनामा दिने गरी हस्ताक्षर गरिसकेको भन्दै तत्काल पक्राउ नगरे काम गर्नसक्ने अवस्था नरहने बताउनुभयो । डा. हरि खड्काले कुटपिटमा संलग्नलाई प्रहरी नियन्त्रणमा नलिनु लापरबाही भएको भन्दै चिकित्सकको निर्णयअनुसार शुक्रबारबाट मकवानपुरका सबै स्वास्थ्य संस्थामा आपत्कालीन बाहेकका सेवा ठप्प गरिने बताउनुभयो ।

भेलामा कुटपिटमा परेका डा. प्रशान्त बिडारी, नेपाल स्वास्थ्यकर्मी सङ्घ मकवानपुरका उपाध्यक्ष सुधीर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका अध्यक्ष भोला चौलागाई, निजी अस्पतालका प्रतिनिधिहरूले घटनाले स्वास्थ्यकर्मीसँग समाजमा असुरक्षाको अवस्था सिर्जना भएको बताउँदै प्रहरीले नै घटनामा संलग्नहरूलाई नियन्त्रणमा नलिएर सुरक्षा दिने कार्य गरेको आरोप लगाएका थिए । साथै स्वास्थ्यकर्मीहरू कुटपिटमा संलग्न भएकाहरूले प्रहरी कार्यालय परिसरभित्रै चिकित्सकलाई मार्छु, काट्छुभन्दा समेत प्रहरी मूकदर्शक बनेर संरक्षण गरेकोप्रति आपत्ति जनाएका थिए ।

भेलामा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले सुरक्षामा सम्झौता नहुने भन्दै जाहेरी नपरेका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुभयो । उहाँले उजुरी परे पनि र नपरेपनि कारबाही प्रक्रिया चलाउने बताउनुभयो । यस्तै, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले घटनामा संलग्नहरूलाई कारबाही गरिने भन्दै घटनाका सम्बन्धमा जाहेरी दिन आग्रह गर्नुभयो ।

यसैबिच नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिले आफ्ना आजीवन सदस्य डाक्टरद्वय थापा र बिडारीमाथि आक्रमण गर्नेमाथि ७२ घण्टाभित्र कानुनी कारबाही नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ ।

गत साउन २२ गते सन्चो अस्पतालमा डेंगुरोगको लक्षण लिई उपचार गर्न सन्चो अस्पताल आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई थप उपचारका लागि भदौ २३ गते चितवनको अस्पतालमा उपचारका लागि प्रेषण गरिएको थियो । चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा साउन २५ गते मृत्युभएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट