Techie IT
Hetauda Khabar

इन्द्रसरोबर गाउँपालिकाले दियो तीन महिने ढाका बुनाई सीप विकास तालिम


जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा तीन महिने ढाका बुनाई सीप विकास तालिमको समापन गरिएको छ । स्थानीय महिलालाई स्वरोजगार बनाउन दिइएको तालिम आइतबार गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामाले समापन गरेकी हुन् ।

गाउँघरमै कृषि र गृहणी काम गर्दै आएका ६ जना महिलाको समूहलाई गाउँपालिकाले २ नम्बर वडास्थित भालुखर्कमा गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्तर्गत् तीन महिनासम्म ढाकाको कपडा बनाउन सिकाएको हो । तालिम पश्चात उपाध्यक्ष प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत् महिलालाई कपडा बुन्ने तान सहयोग गरिएको छ ।

३ महिनासम्म निरन्तर प्रतिव्यक्ति ४७ हजार खर्च गरेर ढाकाको कपडा बुनाई सीप सिकाएर स्थानीय महिलालाई व्यवसायिक बन्न आइतबार १ लाख ४७ हजारको तीन वटा तान (कपडा बुन्ने मेसिन) उपलब्ध गराइएको उपाध्यक्ष लामाले जानकारी दिइन् । ‘महिलालाई स्वरोजगार बनाउन भनेर तालिम मात्रै दिएर पुग्दैन । प्रविधि पनि सहयोग गर्नुपर्छ भनेर तान दिएका हौं । सीप र मेसिन भएपछि उहाँहरुले अब कपडा बुनेर व्यवसायिक बन्न सक्नुहुन्छ ।,’ लामाले भनिन् ।

समूहले उत्पादन गरेको ढाकाको कपडा बजारिकरणका लागि गाउँपालिकाले नै सहयोग गर्ने उपाध्यक्ष लामाको भनाई छ । महिलाले तीन महिनासम्म तालिम सिकेर ढाकाको चोली, गलबन्दी, मफलर, कुर्ता, सुरुवाल, सललगायतका थुप्रै प्रकारका कपडा तयार पार्न सक्ने भएका छन् । ‘अब उहाँहरुलाई सीप भन्दा पनि बजारिकरणको आवश्यकता छ । हेटौंडादेखि काठमाडौंसम्म उत्पादित कपडा बिक्रीका लागि गाउँपालिका र अन्य निकायसँग समन्वय र सहकार्य गर्छौ ।’, लामाले भनिन् । उत्पादित कपडाको फिनिसिङ पनि धेरै राम्रो आएको उनले बताइन् ।

लामाले ६ जना महिलालाई मात्र नभई स्वरोजगार बन्न चाहने गाउँका महिलालाई सीप र प्रविधि सहयोग गर्न ‘उपाध्यक्ष प्रविधि हस्तान्तरण कार्यक्रम’ कार्यान्वयनमा ल्याएकी हुन् । महिलाले तालिम लिए सीप सिकेता पनि प्रविधि नहुँदा व्यवसाय सञ्चालन गर्न नसकेको देखेपछि उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको उपाध्यक्ष लामाको भनाई छ । इन्द्रसरोबर गाउँपालिकाले तालिमलाई व्यवहारमा लागू गर्नका लागि एउटा नियम पनि बनाएको छ ।

स्वरोजगार बनाउने उद्देश्यले गरेको लगानी व्यवहारमा नदेखिए लगानी फिर्ता लिनेसम्मको नीति अपनाउने उपाध्यक्ष लामा बताउँछिन् । ढाका बुनाई तालिममा सीताकुमारी किङरिङले प्रशिक्षण दिएकी थिइन् ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट