Techie IT
Hetauda Khabar

हेटौंडामा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड, मनलाग्दी फालिन्छ औषधिजन्य जोखिमपूर्ण फोहोर

औषधि व्यवसायी संघले उठाउँछ मासिक रकम


हेटौंडामा निजि स्वास्थ्यसस्थाबाट निस्किएका औषधिजन्य जोखिमपूर्ण फोहोरहरु जथाभावी फाल्ने गर्ने गरिएको छ ।

स्वास्थ्यसस्थाबाट निस्किने खतरनाक फोहोरलाई निसंक्रमण गरी, वैज्ञानिक तथा आधुनिक उपकरण मेडिकल अटोक्लेवबाट निर्मलीकरण गरेर व्यवस्थापन गर्नुपर्ने भएपनि यहाँका अधिकांस निजि स्वास्थ्यसस्थाबाट निस्किने फोहोर हेटौंडा-१० राप्ति बगर स्थित ल्यान्डफिल साईटमा त्यसै फाल्ने गरिएको हो। यो मानव स्वास्थका लागि निकै नै खतरापूर्ण हो ।

यहाँ औषधि व्यवसायी संघले निजि स्वास्थ्य सस्था संग मासिक रकम उठाएर उक्त फोहोर निर्मलीकरण नै नगरी राप्ति खोलाको किनारमा लगेर फाल्ने गरेको पाइएको छ ।

औषधिजन्य फोहोर व्यवस्थापन गर्नका लागि स्वास्थ्यसस्थाले अटोक्लिप मार्फत निर्मलीकरण गरेर व्यवस्थापन  गर्नुपर्ने प्रावधान छ तर यहाँका निजि स्वास्थ्यसस्थाबाट निस्किएका यस्ता जोखिमपूर्ण फोहोर व्यवस्थापनमा गम्भीर लापरवाही गर्ने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले १५ प्रतिशत सामग्रीलाई खतरनाक फोहोरको रुपमा वर्गिकरण गरेको छ। जुन, संक्रामक, रासायनिक वा रेडियोधर्मी पनि हुन सक्छ। स्वास्थ्यजन्य फोहोरमा सम्भावित हानिकारक सूक्ष्मजीवहरू हुन्छन्। जसले सर्वसाधारणलाई संक्रमित तुल्याउन सक्छ। यस्ता सूक्ष्मजीवहरू स्वास्थ्य संस्थाबाट सिधै वातावरणमा पनि फैलिन सक्छन्। लापरबाही भएमा अस्पतालदेखि ल्यान्डफिल साईटसम्म ठोक्किने मानिसमा उपचारका क्रममा प्रयोग भएको विषाक्त वा संक्रामक धारिलो सामग्रीको उच्च जोखिममा पर्ने गर्दछन्।

साथै यसले श्वासप्रश्वास सम्बन्धी समस्या, एचआईभि एड्स र हेपटाईटिस ‘बि’ लगायतका रोग र महामारी नै फैलन सक्ने खतरा हुन सक्ने चिकित्सक बताउछन् ।

यस्तो अति संबेदनशील विषयमा औषधि व्यवसायी संघले मासिक रकम उठाउने गरी यहाँका स्वास्थ्यसस्थाबाट निस्केका फोहोर निर्मलीकरण नगरिकनै हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन गर्ने कम्पनी संग सम्झौता गरी जथाभावी फाल्ने गरेको छ ।

राप्ति किनार नजिकको ल्यान्डफिल साईटमा संक्रमणयुक्त सिरिन्च, औषधिका सिसालगायतका जोखिमयुक्त फोहोर जताततै फाल्ने गरिएको छ । तर यसबारे कुनै सम्बन्धित निकायले चासो देखाएका छैनन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्य जन्य फोहोरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सो को सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ। साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिएको छ। तर हेटौंडा उपमहानगरपालिकाले भने यस्तो गम्भीर विषयमा चासो दिएको छैन ।

यसबारे हेटौंडा उपमहानगरपालिका मौन रहेको छ भने जनस्वास्थ्यमाथि यसरी गम्भीर खेलवाड हुँदासमेत जिल्ला प्रशासन कार्यालय थाहा नपाएझै गरेर बसेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट