Techie IT
Hetauda Khabar

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत


बागमती प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–२०८१ का लागि प्रदेश प्रमुख यादब चन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ ।

‘प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पाठ्यक्रम, विद्यार्थी र शिक्षक केन्द्रित आवश्यक नीति तय गरी कार्यान्वयमा ल्याइने तथा विद्यालयको भौतिक पूर्वाधार विकासलाई निरनतरता दिई सामुदायिक विद्यालयहरुको शैक्षिक पक्षको सुदृढीकरण गरिने बताइएको छ । अल्पसंख्यक, लोपोन्मुख, अति सीमान्तकृत , दलित र आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्राको शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारको नीति छ।

प्रदेश प्रमुख शर्माले स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन स्थानीय तहलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक, सहकारी, निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुको नियमनलाई प्रभावकारी बनाइने बताएका छन् । प्रदेशका विषयगत नीतिहरुलाई स्वास्थ्यमैत्री बनाउनका लागि सबै नीतिमा स्वास्थ्य भन्ने अवधारणा लागू गरिने , ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गरिने, कक्षा १२ सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा सो कार्यक्रम विस्तार हुने नीति तथा कार्यक्रममा समेटिएको छ  ।

त्यस्तै नीति तथा कार्यक्रममा प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । प्रदेश सरकारले ‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम संचालनको घोषणा गरिएको छ । ‘गृहणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ गृहणीहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गरिने, लैङ्गिक हिंसाबाट प्रभावितहरुको लागि उद्दार, राहत, मनोसामाजिक परामर्श र पुर्नस्थापन सम्बन्धी सामाजिक सुरक्षाको विशेष कार्यक्रम संचालन गरिने लगायतका कार्यक्रम समेटिएको छ  ।

प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि समक्ष तथा व्यवसायी खेलाडी तयार गर्न खेलको पूर्वाधारको विकास गर्दै प्रशिक्षणको विकास गर्ने प्रदेश प्रमुख शर्माले बताए । साथै उनले स्थानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने बताएका छन्  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट