Techie IT
Hetauda Khabar

सन्चो हस्पिटलको ल्याब ३ दिनमै खारेज, मोडेल अस्पतालको शंकास्पद


हेटौंडा उपमहानगरपालिका- मा रहेको सन्चो अस्पतालको ल्याब अनुमति पाएको ३ दिनमै खारेज भएको छ ।

अनुमति बिना चलेकाले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पुगेको अनुगमन टोलिले ताला लगाइदिएपछि सञ्चो हस्पिटलले १९ चैतमा प्रदेश सरकारअन्तर्गतको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट अनुमति लिएको थियो ।

यो हेर्नुहोस 

प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको हस्ताक्षरमा उक्त अनुपतिपत्र दिइएको देखिन्छ । तर, जनस्वास्थ्य प्रयोगशालाले १९ चैतमा लिएको अनुमति सोही कार्यालयले २१ चैतमै खारेज गरिदिएको छ ।

हस्पिटलले उपलब्ध गराएको कागजात पूर्ण रूपले अध्ययन र प्रभावकारी स्थलगत निरीक्षणबिनै जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको पाइएको छ । सुरुमा अनुमति दिएर तीन दिनमै अनुमति खारेज गर्नुमा जनस्वास्थ्य प्रयोगशालाको गम्भीर लापर्वाही रहेको देखिन्छ ।

नेपाल सरकार स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका–२०७३ को परिच्छेद ४ मा उल्लेखित मापदण्ड पूरा नगरी सञ्चालन भएको प्रयोगशालालाई कार्यालयले हतारमा अनुमति दिएको थियो । दबाबका भरमा दिइएको अनुमति तीन दिन पछी सोही कार्यालयले खारेज गरेको छ ।

यो हेर्नुहोस 

प्रयोगशालाका निमित्त निर्देशक कार्की पनि कागजातको पूर्ण अध्ययन नै नगरी हतारमा अनुमति दिइएको स्वीकार्छन् । करचुक्ताका कारण अनुमतिपत्र खारेज गरिएको उनको प्रतिक्रिया छ ।

हतारमा अनुमतिपत्र किन दिइयो ? अनि तीन दिनमै फेरि किन खारेज गरियो भन्ने प्रश्नमा कार्कीले भने, ‘हस्पिटलले कागजात पेस गर्दा कर चुक्ता म्याद थपको कागज देखियो । कर्मचारी साथीहरूले पनि ठीक छ भनेपछि अनुमति दिइएको हो, अध्ययन गरेपछि फेरि खारेज गरिदिएका छौँ ।’

अनुमति खारेज भए पनि हस्पिटलको ल्याब भने सञ्चालन भइरहेको छ । जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले चारवटा बुँदामा त्रुटि देखाएर ल्याबको अनुमति खारेज गरेको हो ।
औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयसहितको सहभागितामा अनुगमन गर्दा ल्याब मापदण्डविपरीत सञ्चालन भइरहेको पाएपछि ताला लगाइएको प्रशासनका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिएका थिए ।

अनुगमनका क्रममा हस्पिटलको आकस्मिक कक्षमा म्याद गुज्रिएका औषधि पनि फेला परेका थिए । त्यस्तै, हस्पिटलले दुई वर्षदेखि आन्तरिक राजस्व कार्यालयमा कर नतिरेको पाइएको थियो ।

हेटौंडा मोडेल अस्पतालको पनि शंकास्पद 

उता हेटौंडाकै मोडेलअस्पतालको ल्याबपनि शंकास्पद रहेको पाइएको छ ।

केहिदिन अघि पुगेको अनुगमन टोलीले प्रयोगशालामा निकै कमजोरी रहेको फेला पारेको थियो । अस्पतालले २ कार्तिक २०७९ मा समुह ‘सी’ को प्रयोगशाला अनुमति लिएको देखिएको छ तर प्रयोगशाला संचालनका लागि चाहिने न्युनतम मापदण्ड भने पुरा नगरी संचालन भैरहेको भेटिएको छ ।

यो हेर्नुहोस 

स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका–२०७३ मा उल्लेखित मापदण्ड पुरा नगरेको मोडेल अस्पतालले अनुमति पत्र कुना आधारमा पायो भन्ने प्रश्न उब्जिएको छ ।

यसबारे हेटौंडाखबरले थप फलोअप गर्नेछ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट