Techie IT
Hetauda Khabar

हेटौंडामा औषधि व्यवसायी संघको अबैध असुली धन्दा, घातक औषधिजन्य फोहोर जथाभावी फाल्ने गरेको खुलासा


औषधि व्यवसायी संघ मकवानपुरले नागरिकको स्वास्थ्यमा गम्भीर लापरबाही गरेर ठगी धन्दा चलाइरहेको खुलेको छ ।

हेटौंडाका निजि स्वास्थ्य सस्थाबाट निस्किएको औषधिजन्य फोहोर व्यवस्थापनको नाममा अबैधरुपमा रकम असुली गरेको खुलेको हो ।

औषधिजन्य फोहोर खुला रूपमा फाल्नु मानव स्वास्थ्यसँगै पर्यावरणका लागि जोखिमपूर्ण हुन्छ । यसमा मिसिएको रसायनले जथाभावी फाल्दा माटो, पानी र हावा प्रदूषित भई प्राणी जीवनमा घातक असर गर्ने गर्छ । तर स्वास्थ्यमा गम्भीर असर पर्ने यस्ता फोहोर जथाभावी फाल्ने गरिएको छ ।

औषधिजन्य फोहोर व्यवस्थापन गर्नका लागि स्वास्थ्यसस्थाले अटोक्लिप मार्फत निर्मलीकरण गरेर व्यवस्थापन  गर्नुपर्ने प्रावधान छ तर यहाँका निजि स्वास्थ्यसस्थाबाट निस्किएका यस्ता जोखिमपूर्ण फोहोर व्यवस्थापनमा गम्भीर लापरवाही गर्ने गरेको पाइएको छ ।

निजि स्वास्थ्यसस्था संग मासिक रकम असुली गर्दै औषधि व्यवसायी संघ मकवानपुरले फोहोर जथाभावी फाल्ने गरेको पाइएको छ । यहाँका स्वास्थ्यसस्थाबाट अबैधरुपमा रकम लिएर हेटौंडा-१० स्थित डम्पिङसाइडमा जथाभावी खुल्लारुपमा जोखिमपूर्ण फोहोर फाल्ने गरिएको छ ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा वातावरण संरक्षण ऐन, २०५३ कार्यान्वयनमा रहेको अवस्था छ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले ‘फोहोरमैला’ को परिभाषामा स्वास्थ्यजन्य फोहोरमैला वा हानिकारक फोहोरमैलालाई समेत समेटेको छ र त्यस्ता हानिकारक फोहोरमैलाको प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधिनमा रही त्यस्तो फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकायको हुनेछ भनी स्पष्ट गरिएको छ । त्यस्तै, वातावरण संरक्षण ऐन, २०५३ ले ‘फोहोरमैला’ भन्नाले वातावरणमा ह्रास आउनेगरी निष्काशन गरिएका तरल, ठोस, ग्याँस, लेदो, धुवाँ, धुलो, विकिरणयुक्त तत्व वा पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरु सम्झनु पर्छ भनी परिभाषित गरेको छ।

सो ऐनको दफा ७ मा प्रदूषणको रोकथाम तथा नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको छ, जसअनुसार कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकुल प्रभाव पार्नेगरी वा जनजीवन र जन–स्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले प्रदूषण सिर्जना गर्न वा तोकिएको मापदण्डविपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहोरमैला निष्काशन गर्न, गराउन हुँदैन भनी उल्लेख गरिएको छ ।

हावा वा पानीमा मिसिंदा मानिस, जनावर, जलचरसँगै वनस्पतिलाई समेत क्षति पुर्‍याउँछ । यस्तो औषधि निरोगी व्यक्तिको शरीरको सम्पर्कका पुग्दा ज्यादै जटिल स्वास्थ्य समस्या देखापर्नुका साथै त्यस्तो व्यक्ति बिरामी परेमा औषधिको सामान्य डोजले काम नगर्ने चिकित्सकले बताउछन् ।

औषधि जन्य  फोहोरले वातावरणमा घातक फोहोरको मात्रा बढिरहेको छ । तर हेटौंडामा यसबारे गम्भीर लापरवाही हुनेगरेको भेटिएको छ । औषधि व्यवसायी संघले गैरकानुनी रुपमा रकम असुली गरी यस्ता घातक फोहोर खुल्ला रुपमा राप्ति बगरको डम्पिङ साइडमा फाल्ने गरेको पाइएको छ । औषधिजन्य फोहोर निर्मलीकरण नगरी खुल्लारुपमा फाल्नु गैरकानुनि हो, तर यसबारे हेटौंडा उपमहानगरपालिका बेखबर छ । नागरिकको स्वास्थ्यसंग गम्भीर खेलवाड गर्ने र वातावरणलाई प्रत्यक्ष असर गर्ने जोखिमपूर्ण फोहोरलाई जथाभावी फाल्ने गरेको औषधि व्यवसायी संघलाई कसैले कारबाही गर्न भने सकेको छैन ।

यसरी गैरकानुनी रुपमा रकम असुली गर्ने र औषधिजन्य फोहोर जथाभावी फाल्ने औषधि व्यवसायी संघलाई कारवाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट