Techie IT
Hetauda Khabar

हेटौंडाको सहकारी अस्पताल मापदण्ड विपरित, सेटिङमा सुटुक्क किन दिइयो अनुमति ?


मापदण्ड विपरित संचालन भैरहेको हेटौंडाको मकवानपुर सहकारी अस्पतालमा बिरामीले सास्ती पाइरहेका छन् । निजि अस्पतालका नाममा चर्को सेवा शुल्क लिने गरेको यस अस्पतालले नियम र कानुनको बर्खिलाप स्वास्थ्य सेवाका नाममा कमाऊ धन्दा गरिरहेको छ । तर सम्बन्धित निकायले भने कुनैपनि कारवाही गर्न सकेको छैन ।

प्रदेश स्वास्थ्य नियमावली २०७६ अनुसार न्युनतम पुरा गर्नुपर्ने मापदण्डसमेत पुरा नगरी निर्वाद रुपमा यो अस्पताल संचालन भैरहेको छ । तरपनि प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका नियामक निकाय, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै निकाय मौन बस्नुले नियमन गर्ने निकाय र अबैध रुपमा संचालन भैरहेका यस्ता अस्पताल विच मिलेमतो छ कि भन्ने शंका उब्जिएको छ ।

हेटौंडा-१ मा रहेको अस्पतालले स्वास्थ्य कार्यालयबाट २५ शैयाको संचालन अनुमति लिएको छ । तर कानुन विपरित यस अस्पतालले ५० भन्दा बढी शैया संचालन गरेको छ । अर्को तर्फ अस्पतालको भवन जोखिमपूर्ण रहेको छ, भवन संहिता अनुसारको अस्पताल भवन छैन ।

अस्पतालमा सामान्य खालका मापदण्डसमेत पुरा गरिएको छैन । अस्पतालको कुल क्षेत्रफ़लको २५ प्रतिशत पार्किङ हुनुपर्ने प्रावधान छ । जबकी यहाँ उपचार गराउन आउँदा सवारी बाटोमा पार्किङ गर्नुपर्छ । त्यस्तै प्रतिक्षालय हुनुपर्नेमा यो अस्पतालमा एकैछिन बस्ने ठाउँ सम्म छैन, अस्पतालमा खानेपानीको राम्रो व्यवस्था हुनुपर्नेमा यहाँ बिरामी र आफन्तले पानीसमेत खान पाउने अवस्था छैन । यहाँका आकस्मिक वार्ड, ओपिडीलगायतका स्थान तोकिएको मापदण्ड अनुसार कुनैपनि छैनन् । तर अस्पतालले भने सेवा वापतको चको शुल्क लिने गरेको छ । सहकारीद्वारा संचालित भएपनि यस अस्पतालले बिरामी जांच गर्दा सुरुमा काटिने टिकेट देखि अधिकांस चेकजाँच गर्दा चर्को शुल्क लिने गरेको छ । तर सरकारले तोकेको मापदण्ड र विरामीलाई दिनुपर्ने सेवा सुविधामा भने निकै लापरवाही गरिने गरेको छ ।

लाजमर्दो कुरो के भने बागमती प्रदेशको राजधानी हेटौंडामा यसरी गैरकानुनि रुपमा संचालन भएका निजि अस्पताललाई सम्बन्धित निकायले कुनै पनि कारबाही गर्न सकेको छैन । तोकिएको मापदण्ड पुरा नगरेमा वा कानुन भन्दा बाहिर गएर स्वास्थ्य सस्था संचालन गरेमा कारवाही र खारेज सम्म गर्न सकिने कानुनमा उल्लेख छ । तर नियामक निकाय भने गैरकानुनी धन्दा चलाउनेलाई नै प्रसय दिइरहेको छ ।

लामो समयदेखि अबैधानिक रुपमा संचालित सहकारी अस्पतालका विषयमा विभिन्न संचार माध्यममा समाचार आएपछि जिल्ला प्रशासन,स्वास्थ्य कार्यालयलगायतले अनुगमन गरेजस्तो गर्ने गरेका छन् । यसअघि पनि पटक पटक सुचित गर्दै सम्पूर्ण मापदण्ड पुरा गर्न निर्देशन दिदैं जाँदै गर्ने गरेको प्रशासनले पहुचकै आधारमा मापदण्ड पुरै नभएकालाई संचालन अनुमती खुसुक्क दिने गरेको खुलेको छ ।

स्वास्थ्य नियमावलीमा भए अनुसार मापदण्ड पुरा भएकालाई मात्र अनुमति दिईने प्रावधान छ । तर प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको स्वास्थ्य कार्यालय मकवानपुरले मापदण्डनै नपुगेको अस्पताललाई संचालन अनुमति दिएको भेटिएको छ । स्वास्थ्य कार्यालय स्वमले पटक पटक अनुगमन गर्न जाँदा समेत कानुन विपरित संचालन भैरहेको देखिएपछी निर्देशन दिएर आउने गरेको थियो । तर राजनीतिक पहुँचका आधारमा स्वास्थ्य कार्यालयले कानुनले तोके अनुसारको मापदण्ड नै नपुगेको मकवानपुर सहकारी अस्पताललाई २०८० भदौ सम्मलाई संचालन अनुमती २५ शैयाका लागी दिएको छ । कानुन विपरितको सस्थालाई कसरी अनुमती दिइयो? र किन दिईयो ? सम्बन्धित निकाय भनिने स्वास्थ्य कार्यालयमाथि नै प्रश्न उठेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट