Techie IT
Hetauda Khabar

हेटौंडाका ट्राफिक र प्रहरी हाकिमको सेटिङ, अत्याधिक ओभरलोड टिपरलाई हुदैन कारबाही

बाटो हिड्ने, मोटरसाइकल र साना सवारी असुरक्षित


मकवानपुरका बिभिन्न सिमेन्ट उद्योगमा टिपरले चुनढुङ्गा अत्याधिक ओभरलोड गरी ओसार्दा समेत यहाँका ट्राफिक प्रहरी मौन बस्ने गरेका छन् ।

हेटौंडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योग, हेटौंडाको चुरीयामाईमा रहेको रिद्दिसिद्दी सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगमा चुनढुङ्गा ओसार्ने टिपरले भार बहन क्षमता भन्दा निकै बढी ढुङ्गा बोकेर हेटौंडा बजारमा कुद्दासमेत यहाँका ट्राफिकले देखे नदेखे झैँ गर्ने गरेका छन् । ढाला भन्दा माथी चुली लगाएर खानीजन्य पदार्थ दुवानी गर्दा दुर्घटनाको उच्च जोखिम त् छदै छ सडक संरचनालाई समेत क्षती पुगिरहेको छ ।

मालबाहक सवारी साधनको भारबहन नियमन सम्बन्धी निर्देशिका २०७४ अनुसार अधिकतम कुल वजन वा एक्सललोड भन्दा बढी भारबहन गर्ने सवारीलाई तत्काल जरिवाना गरी भार मिलान गरी पठाउने प्रावधान छ । नजिकैको यातायात व्यवस्था कार्यालयमा पठाई थप असुल उपर गर्नेसमेत प्रावधान छ । तर यहाँका टिपरले खुलेआम ट्राफिक कै अगाडी अत्याधिक ओभरलोड गरी टिपर दौडाउदा ट्राफिक प्रहरीले नदेखेको जस्तै गर्छ ।

यहाँका व्यवसायी, उद्योग र ठेकेदारसंगको मिलेमतोमा ट्राफिक प्रहरीले नियम बिपरित ओभरलोड आउने सवारीलाई त्यसै छाडिदिने गरेको छ । ट्राफिकका हाकिमदेखि प्रहरी प्रशासनलाई नियमित रकम दिने गरेकाले प्रहरीले कारवाही नगरेको यहाँका नागरिकको आरोप छ । व्यवसायीसंगको सेटिङ र लेनदेनको कारण कतै चेकिंङमा परिहाले पनि तत्कालै फोन गरेपछी बिना कारवाही छाडीदिने गरेको स्रोतले बताएको छ ।

ओभरलोड चुनढुङ्गा लिएर हेटौंडाको मुल सडक भएर एक सय भन्दा वढी टिपरहरु ओहोर दोहोर गर्ने गर्छन् । अत्याधिक ओभरलोड टिपरकै कारण सडकमा हिड्ने पैदलयात्री, मोटसाइकल र साना सवारीसाधन र चालक असुरक्षित हुने गरेका छन् । यसरी नियम बिपरित लगातार दिनहुँ यस्ता टिपर ओहोरदोहोर भैरहदा पनि सडकमा बस्ने ट्राफिकले भने टिपर कुदेको देख्दैन । साना सवारीलाई रोकेर चेकजाँच गर्ने र चाहिने भन्दा बढी हैरानी दिन खोज्ने हेटौंडाका प्रहरी र ट्राफिकले यस्ता टिपर र ठुला व्यवसायीको सवारीलाई कारवाही नगर्नुले ट्राफिक प्रहरीको मिलेमतो रहेको प्रस्ट हुन्छ ।

सडक क्षमताअनुसार ६ चक्के गाडीले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १६ चक्केलाई ३०.२ टन मात्र ढुवानी गर्न सक्ने प्रावधान छ। आफ्नो भारबहन क्षमता भन्दा कयौं गुणा बढी ढुंगा बोक्ने टिपरलाई कारबाही हुने गरेको छैन ।

ट्राफिक प्रहरी स्रोतका अनुसार ट्राफिक र प्रहरीकै हाकिमले ओभरलोड टिपरलाई छाडिदिन निर्देशन दिने गर्छन्  । ‘ट्राफिक प्रहरीको राम्रै मिलेमतो छ,’ एक स्थानीयले भने, ‘ट्राफिक प्रहरीको दैनिक, साप्ताहिक र मासिक असुली चलिरहन्छ ।’

‘ओभरलोड भएर आउँदा हामीले रोक्छौं, आदेश छोडिहाल भन्ने आउँछ । माथिको आदेश मान्नैपर्छ’ । ट्राफिक प्रहरी स्रोतका अनुसार ओभरलोड भएर आएका टिपरहरु सेटिङ्गमा सञ्चालन गरेर उनीहरुबाट मासिकरुपमा रकम असुली गरिन्छ ।

अत्याधिक ओभरलोड बोकेका टिपरहरुलाई राक्सिराङ गाउपालिकामा रहेको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय मनहरी, ट्राफिक चेक पोस्ट मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी, ट्राफिक पोस्ट नेवारपानी, प्रहरी चौकी लेवड, प्रहरी चौकी थानाभर्याङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय हेटौंडा, प्रहरी चौकी बसपार्क, इलाका प्रहरी कार्यालय पशुपतिनगर र मकवानपुरकै भन्सार नाका भनेर चिनिने रातोमाटे ट्राफिक प्रहरी पोस्टमा कार्यरत कोही पनि प्रहरीले देखे नदेखे झैँ गर्नु निकै आश्चर्यको विषय हो ।

यसबाट अनुमान लगाउन सजिलै सकिन्छ कि, ट्राफिक प्रहरीसंग राम्रै सेटिङ्ग हुने गरेको छ ।

 

 

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट