Techie IT
Hetauda Khabar

हेटौंडा बजारका तारलाई भूमिगत गरिने


हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ । जताभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमि आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको जनाएको छ  ।

मंगलबार बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको १, २, ४, १० र ५ को केहि भागका पोलमा रहेको तारलाई भूमिगत गर्ने निर्णय गरेको हो । तार व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारीस पत्र पठाउँने तयारी भएको उपमहानगरले जनाएको छ ।

बैठकले हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा बिकास गर्नका लागि नगरका बिभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणसँग छलफल भैरहेको जनाएको छ ।

बजारसहित नगरका सबै वडालाई समेटेर लाइटको व्यवस्थापनका लाग्ने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले भनिन ‘पहिले बजार केन्द्रित व्यवस्थापनको कुरा गरीएको थियो तर अहिले नगरका सबै वडामा आवश्यकता अनुसार लाईट राख्ने तयारी गरेका छौं ।’ उनले भनिन्–लाईट राख्ने ठाउँ र संख्या बारे अध्ययन भैरहेको छ । लाईटका लागि बिधुत प्राधिकरणसँग सामान्य सहमति बनिसकेको बताइएको छ ।

सहमति अनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने छ भने ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ । पहिलो चरणमा उपमहानगरले हाइ मास्ट लाइटका लागि ६० लाख रुपियाँ बजेट छुट्याएको शहरी पुर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए । पहिलो चरणमा २५ वटा १० देखी १६ मिटर उचाई भएका लाईटको माग गर्ने तयारी उपमहानगरले गरेको उनले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट