Techie IT
Hetauda Khabar

फाल्गुन ३० देखि हेटौंडामा अल नेपाल नोभिस बक्सिङ, तयारी पूरा


अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बताएको छ । आइतबार  पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष तथा कार्यक्रम संयोजक दीपेश जोशीले फाल्गुन ३० गतेबाट शुरु भई चैत ४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको बताए ।

मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १७८ जना खेलाडीले सहभागीता जनाउने छन् । जसमा १ सय ५० जना पुरुष र २८ जना महिला रहेका छन् । प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीले सहभागीता जनाउने छन् । बक्सिङ संघको आयोजनामा भएको औपचारिक प्रतियोगितामा सहभागिता नजनाएका नयाँ खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले बताए ।

पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र वेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एकजना वेष्ट लुजरलाई पुरस्कृत गरिने अध्यक्ष जोशीले बताए । प्रतियोगिता हरेक बर्ष आयोजना गरिने उनले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले प्रत्येकदिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताए । मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धी भई मेडल प्राप्त गरेका २३ जना खेलाडीलाई सम्मान गरिने अध्यक्ष जोशीले बताए । बागमती प्रदेश सााजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रम उद्घाटन गर्ने तय भएको उनले जानकारी दिए । प्रतियोगिताका लागि करिव ३५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट