Techie IT
Hetauda Khabar

बैंकको चर्को ब्याजदर विरुद्ध हेटौंडाका उद्योगि ब्यापारी सडकमा


नेपाल राष्ट्र बैंकले कर्जा नियन्त्रण तथा ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा हेटौंडाका उद्योगि, व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।

बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरोध गर्दै यहाँका व्यवसायी सडकमा उत्रिएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित व्यवसायीले बुधबार धर्ना तथा हेटौंडामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठपनि उपस्थित थिए ।

लामो समयदेखि कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीकाबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्नमा रहेका बेला सरकारले व्यवसायीलाई सहुलियत दिनुको साटो एकपछि अर्को नियमहरु ल्याएर उद्योग व्यापार क्षेत्रमा त्रास सिर्जना गरेकोले आन्दोलनमा उत्रिनु परेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बताए । “बैंक तथा वित्तीय संस्थाको लगानी नहुँदा अहिले बजारमा ८० प्रतिशत व्यापारमा ह्रास आएको छ” उनले भने, “सरकारले सहुलियत दिनुपर्ने बेला ब्याजदर बढाउनुका साथै कर्जा पाउन समस्या बनाएर व्यापारीलाई समस्या छ ।” उनले भने ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ल्याएको प्रावधानले धेरै व्यवसायीहरु टाट पल्टेर पलायन हुने स्थिति आएको भन्दै व्यावसायीहरुले चिन्ता ब्यक्त गरेका छन । उद्योग वाणिज्य संघको अगुवाईमा फागुन २१ देखि ३० गतेसम्म मकवानपुरमा चरणबद्ध विरोधको कार्यक्रम गरिने बताइएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट