Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप- हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश


हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल हिमालयन शेर्पा क्लबले जितेको छ । जित संगै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा फ्रेण्डस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनल प्रवेश गरेको हो ।

शेर्पाका लागि दोस्रो हाफको ३ मीनेटमा अमृत श्रेष्ठले गोल गरि खेलमा अग्रता दिलाएका थिए । फ्रेन्डस एन्जल महर्जनले २३ औं मिनेटमा गोल फर्कएर खेललाई बराबरीको स्थितिमा ल्याए । ३७औं मिनेटमा शेर्पाका बिश्वास श्रेष्ठलेले गोल थप्दै २–१ को स्थितिमा पुर्याए ।

बिदेशी खेलाडी सम्मीलित शेर्पा फ्रेन्ड्स माथी दवाब बनाएर राखेपनी १ गोल भने फर्काउन सफल रह्यो । खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका टिम क्याप्टेन विश्वास श्रेष्ठ भएका छन् । उनले नगद १० हजार सहित ट्रफि प्राप्त गरेका छन् ।

हिमालयन शेर्पा क्लबले अब एभिनिर एफसी क्यामरुन सँग ८ गते सोमबार भिड्ने छ । प्रतियोगिताअन्तर्गत् भोली आइतबार पहिलो सेमिफाइनल खेल मनाङ मर्स्याङदी क्लब र नेपाल एपिएफ क्लबबीच हुनेछ ।

यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट