Techie IT
Hetauda Khabar

बागमती प्रदेशमा अब ७० अंक ल्याए ट्रायल पास


बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम,रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका न् । उनले फागुन १ गतेदेखि प्रदेशको उपत्यकाको जिल्लाहरुबाट ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली लागू गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले यातायात मन्त्रालयलाई मुख्यमन्त्रीले निर्देशन दिइसकेकोले फागुन १ गतेबाट सो अंक प्रणाली लागू हुने बताए । ‘यसअघि ट्रायल सेन्टरका सञ्चालकले नै अहिले सक्दैनौँ भनेको भएर रोकिएको थियो । अहिले उहाँहरूले नै सक्छौँ भनेपछि हामीले यसलाई लागू गर्ने तयारी गरेका छौँ’,उनले भने । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । उनले ३ पटकसम्म उक्त प्रणाली लागू गर्ने तयारी गरेका थिए ।

तत्कालीन मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण ३ पटक रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान मुख्यमन्त्रीले कार्यान्वयनतर्फ लैजाने भएका छन् । बागमती प्रदेशको नवनियुक्त श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली कार्यान्वयन गर्ने बताए । अन्य प्रदेशमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने भन्दै मन्त्री श्रेष्ठले फागुन १ गतेदेखि बागमती प्रदेशमा पनि यो प्रणाली लागू गर्ने बताएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट