Techie IT
Hetauda Khabar

बागमती सरकार र भरतपुर महानगरले बनाउने भयो गौतम बुद्ध क्रिकेट रंगशाला


हेटौंडा । चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको छ। मंगलबार बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेश र भरतपुर महानगरपालिकाबीच भएको छलफलबाट खेल्न मिल्ने गरी रंगशालाको काम तत्काल अगाडि बढाउने सहमति भएको छ ।

भरतपुर महानगरपालिकाबाट तयार भएको लागत अनुमान ७५ करोड रुपैयाँ मध्ये प्रदेश सरकारले ७० प्रतिशत र ३० प्रतिशत महानगरपालिकाले साझेदारी गर्ने निर्णय भएको हो । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको हो ।

उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । सो बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाउने बताइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानासहितको टोलीले बागमती प्रदेश सरकारसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य अगाडि बढाउने विषयमा छलफल गरेको छ ।

बागमती प्रदेश सरकार तथा मुख्यमन्त्री कार्यालय हेटौडाँमा मंगलबार मुख्यमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामासहितको टोलीसँग छलफल गरेको हो ।

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा जनस्तरबाट निर्माण सुरु गरिएको रंगशाला आर्थिक अभाव देखाउँदै निर्माणकै क्रममा अलपत्र परेको थियो । यसअघि रंगशालाको नाउँमा रहेको ऋणका बारेमा केन्द्र सरकारले नै निर्णय गर्ने पनि सहमति भएको छ । बागमती प्रदेश सरकारसँग भएको सम्झौताअनुसार फाउण्डेसनले लगाएको ऋण तिर्ने बारे अन्योल कायमै छ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट