Techie IT
Hetauda Khabar

नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट


नेपाल टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आउँदो बर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपका लागि छनोट भएको हो ।

नेपालले यसअघि सन् २०१४ मा भएको टी ट्वान्टी विश्वकप खेलेकाे थियो । मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा मात्र  २ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका आशिफ शेखले अविजित ६३ तथा कप्तान रोहितकुमार पाैडेलले  अविजित ३५ रन बनाए। यस्तै गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । यूएईका वृत्य अरबिन्दले ६४ र मोहम्मद वासिमले २६ रन बनाए ।
नेपालका कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक विकेट लिए । ३ ओभर बलिङ गरेका कुशलले ११ रन खर्चेर ३ विकेट लिए । यसैगरी, सन्दीपले ४ ओभरमा १४ र  सोमपालले ३ ओभरमा १५ रन खर्चिए।

अबिनाश बोहोराले भने आज महङ्गो बलिङ गरे । उहाँले ३ ओभरमा ३६ रन खर्चे पनि विकेट लिन सकेनन् । यस्तै करण केसीले पनि ३ ओभरमा २६ रन र गुल्सन झाले ३ ओभरमा २४ रन खर्चनुभयो तर विकेट लिन भने असफल भए ।

छनोटको फाइनलमा भने नेपालले ओमानसँग खेल्ने भएको छ । आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई हराउँदै ओमानले फाइनल प्रवेश गरेको हो ।
फाइनल खेल पर्सि आइतबार कीर्तिपुरमा हुनेछ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट