Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीमा मन्त्रालय भन्दा मन्त्री धेरै, मुख्यमन्त्रीको सय दिनको उपलब्धि २ सय दिन टिकेन


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाबाट दोस्रो पटक बिस्वासको मत पाएकै दिन पदभार गरेलगत्तैको मन्त्रालय घटाउने निर्णय गरेका थिए । तर आफैले गरेको यो निर्णयमा मुख्यमन्त्री जम्मकट्टेल २ महिना पनि अडिक रहन सकेनन् ।

ADVERTISEMENT

त्यतिमात्र होइन मुख्यमन्त्रीको कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा ५ वैशाखमा बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भनेका थिए, “सुशासन र खर्च कटौतीका लागि प्रदेश सरकार (कार्यविभाजन नियमावली, २०७४ को अनुसूची हेरफेर गरी साबिकमा रहेका १४ मन्त्रालयको संख्या घटाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा प्रदेश मन्त्रालय कायम गरिएको छ ”।

ADVERTISEMENT

सरकारले आफ्नो १०० दिनको मुख्य उपलब्धि मानेको मन्त्रालय घटाउने निर्णय २०० दिन नपुग्दै हावा खाएको छ । बागमतीमा मन्त्रालय भन्दा धेरै मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार थप ६ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।

ADVERTISEMENT

आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै उनले मन्त्रीको संख्या ११ बाट १२ पुर्‍याएका छन् । दोस्रो पटक विश्वासको मत लिएको ५८ दिनपछि उनले १२ सदस्यीय मन्त्रिपरिषद् बनाए । ११ मन्त्रालयमा १२ मन्त्री बनाएपछि उनलाई अब एक मन्त्रालय थप्नैपर्ने बाध्यता छ ।

नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ६ र नेकपा एसले २ मन्त्रालयको दाबी नछाडेपछि प्रदेशमा विवाद चुलिएकाले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको नै बैठक नबसी भागबण्डाको बिषय सुल्झिन सकेको थिएन। बालुवातारमै बैठक बसेपछी नेपाली कांग्रेसका राम कृष्ण चित्रकारलाई बिना विभागीय मन्त्री बनाएरै भएपनि प्रदेशमा सरकार बिस्तारको लफडा मिलेको हो  ।नेपाली कांग्रेसले कुनै पनि हालतमा ६ वटा मन्त्रालय नछोड्ने अडान लिएपछी मन्त्रालय थप्ने कुरा अघि सरेको अन्य दलका सांसदहरु बताउछन् ।

प्रदेशमा हाल माओबादीको तर्फबाट मुख्यमन्त्रीसहित ४, नेपाली कांग्रेसबाट ६ र एकीकृत समाजबादीबाट २ मन्त्री गरी १२ जनाको मन्त्रीमण्डल बनाइएको छ । यसअघि प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले ७ मन्त्रालयबाट ४३ महिना सत्ता सञ्चालन गरेका थिए भने दोश्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ८ मन्त्रालय बनाएकी थिइन् । त्यसपछी राजेन्द्र पाण्डेले गठबन्धनमा भाग पुर्‍याउन ८ बाट एकैपटक १४ वटा मन्त्रालय बनाएका थिए भने राज्यमन्त्रीसहित १८ जना मन्त्री बनाएपछि उनको चर्को आलोचना भएको थियो ।

पाण्डेको जनस्तरबाटै चर्को आलोचना भएपछि मुख्यमन्त्री जम्कट्टेले ११ वटा मन्त्रालयमात्र बनाएर जनतालाई शुसासनको प्रत्याभूति दिलाउने घोषणा गर्दै आएका थिए । तर उनैले अहिले आफैले गरेको पहिलो निर्णयनै कुल्चिएर मन्त्रालय भन्दा मन्त्री धेरै बनाएका छन् ।


प्रकाशित मिति : बुधबार, २०८० जेष्ठ १०, १० :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट