Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

सरकारी निकायको लापरवाहीले हेटौंडाका किसानको सयौं बंगुर मर्यो, कसले दिने क्षतिपुर्ति


नेपालमा किसानको समस्या समाधानमा सरकारीस्तरबाट खासै पहल भएको देखिँदैन । यदाकदा केही अनुदानको व्यवस्था भइहाले पनि पहुँच हुनेले पाइरहेका छन् । वास्तविक किसानमा मारमा परिरहेका छन ।

ADVERTISEMENT

यसले गर्दा किसान निराश छन् । सरकारी निकायकै लापरवाहीका कारण आफूले पालेका बंगुर भकाभक मर्न थालेपछि किसान चिन्तित छन् ।

ADVERTISEMENT

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमलटारकी एकल महिला ज्ञानमाया स्याङ्तानले दुई वर्षदेखि बंगुर पालन गरिरहनुभएको छ । कृषक समूहले ६० वटा बंगुरको पाठा दिएपछि ज्ञानमायाले मंगलसुत्र नै बेचेर खोर बनाउनुभयो । तर, एक वर्षमै उचित उपचार नपाउँदा बंगुरहरु विभिन्न रोग लागेर मर्न थाल्यो ।

ज्ञानमायाको मात्रै हैन सिमलटारकै मायादेवी रुम्बाको पनि पीडा उस्तै छ । मायादेवीले ऋण गरेर पालेको डेढ सय बंगुर मरे ।

ADVERTISEMENT

सरकारले समयमा भ्याक्सिन र औषधि उपलब्ध नगराउँदा हेटौंडामा किसानले पालेका सयौं बंगुर मरेका छन् । हेटौंडा उपमहानगरपालिका–११ सिमलटारका २ कृषक समूहका करिब ४० किसानले पालेका बंगुरहरु विभिन्न रोगका कारण मरेका हुन् ।

बंगुरलाई लगाउनु पर्ने भ्याक्सिन र समय–समयमा दिनुपर्ने औषधि यसअघि पशु सेवा केन्द्र पोखराका प्राविधिकले पशुपालक किसानका गोठ–खोरमा पुगेर लगाउने गरेको भए पनि अहिले प्रदेशको कृषि मन्त्रालय अन्तर्गतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले भ्याक्सिन र औषधि समयमा नदिएकाले खोरेत, स्वयं फिबरलगायतका रोगका कारण सयौं बंगुर मरेका छन् । पटक–पटक सरकारी निकायमा भन्न जाँदा पनि कुनै सुनुवाइ नभएको किसानको गुनासो छ ।

पशुपालन तथा कृषिमा स्थानीय, प्रदेश र संघीय सरकारले ठूलो लगानी गर्छ । त्यसो त राजनीतिक पहुँच र नातेदारको आडमा करोडौंको अनुदान पनि सरकारले बाँड्ने गर्छ । तर मर्कामा परेका किसानले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् ।

किसानले एउटा बंगुरको पाठा बेच्नका लागि तयार पार्न ६ महिना कुर्नुपर्छ । त्यसक्रममा औषधोपचार, दाना पानी, कामदारको ज्यालामा ठूलो रकम खर्च हुन्छ । तर, भकाभक बंगुर मर्दा किसान ऋणमा डुबेका छन । सिमलटारमा पालिएका करिब पाँच हजार बंगुरमध्ये पचास प्रतिशतभन्दा बढी मरिसकेका छन् । अब सरकारले रोग पत्ता लगाउन, त्यसको उपचार खोज्न र किसानलाई क्षतिपूर्ति दिएर कृषिमा टिकाइ राख्ने गरी काम गर्नु जरुरी छ ।


प्रकाशित मिति : मङ्लबार, २०७९ फाल्गुन ९, १७ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट