Techie IT
Hetauda Khabar

एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने लगभग निश्चित


एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना लगभग समाप्त भएको छ । राष्ट्रिय दल बन्नका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत पाउनुपर्छ ।

पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वको पार्टीले प्रत्यक्षतर्फ सत्ता गठबन्धनको सहारामा १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने सम्भावना लगभग सकिएको देखिन्छ । अहिलेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना हुँदा एसको खातामा २ लाख ९६ हजार ९० मत छ ।

अहिलेकै अवस्थामा पनि एसलाई थ्रेसहोल्डको हिसाब पुगाउन १८ हजार २ सय ७२ मत अपुग छ । मतगणना अन्तिम चरणमा पुग्दा एसले यो मत पुर्‍याउन सक्ने सम्भावना पनि देखिएको छैन । बाजुरा र स्याङ्जामा जारी मतगणनाको ग्राफ हेर्दा पनि एसले अरु ठूला दलको भन्दा निकै कम मत पाइरहेको छ ।

यस्तै गतिमा मतपरिणाम आए एसको राष्ट्रिय पार्टी बन्ने सपना पूरा हुन कठिन देखिएको छ । जारी मतगणनाअनुसार अहिलेसम्म एमाले एमाले २८ लाख १४ हजार ६ सय ५५ मत पाएर पहिलो स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २ सय १८ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत पाएको छ ।

११ लाख २४ हजार ७ सय ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ८ सय १६ मतका साथ पाँचौँ स्थानमा छ । जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ५४ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ३८ मत पाएर थ्रेसहोल्ड कटाएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट