Techie IT
Hetauda Khabar

कमल थापाको दुर्भाग्य- न कांग्रेस फाप्यो न एमाले


मकवानपुर १ मा नेकपा एमालेबाट उम्मेदवार रहेका कमल थापा पराजित भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र दीपकबहादुर सिंहबीचको हेभिवेट नेताहरूको भिडन्तमा थापा पराजित भए । थापालाई उनकै पूर्वसहयात्री सिंहले हराएका हुन् ।

त्रिपक्षीय भिडन्तमा २५ हजार ४ सय २० मतसहित थापा तेस्रो स्थानमा खुम्चिए । कुनै बेला मकवानपुरमा राप्रपाको गतिविधि बढाउन थापा र सिंह एक रथका दुई पाङ्ग्रा थिए । यी ‘दुई भाइ’ राप्रपा मकवानपुरका हस्तीसमेत हुन् । तर, पहिलो पटक एकअर्काबीच प्रतिस्पर्धा गर्दा भने सिंहले २७ हजार ८ सय १६ मत पाएर बाजी मारे । कांग्रेसकी डिना २५ हजार ५ सय ३४ मत ल्यााएर प्रतिस्पर्धामा दोस्रो भइन् । उनको प्रत्यक्ष निर्वाचन जित्ने आकांक्षा यसपटक पनि पूरा हुन पाएन ।

पञ्चायतकालमा मकवानपुरमा एकछत्र राज गरेका थापालाई २०४६ सालको बहुदल स्थापनापछि मकवानपुरको निर्वाचनमा फलिफाप नभएको नतिजाले देखाउँछ । उनले मकवानपुरमा पटक-पटक एमालेका उम्मेदवारसँग पराजय भोग्नु परेको थियो । एमालेका कृष्णप्रसाद दाहालसँग मात्रै उनी तीन पटक पराजित भएका थिए । पटक-पटक संसद छिर्ने योजनामा बाधक बनिरहेको एमाले थापाका लागि मकवानपुरमा पुरानो प्रतिस्पर्धी हो । यसअघिका कुनै पनि निर्वाचनमा उनले एमालेसँग सहकार्य गरेका थिएनन् । २०७२ मा संविधान जारी भएपछि संविधानविरुद्ध आन्दोलन गरिरहेका उनी र उनका भाइ गणेश थापामाथि हेटौँडा–२ स्थित पल्पसा सभागृहभित्र भौतिक आक्रामण नै भएको थियो ।

मकवानपुरमा एमालेको कडा आलोचक थिए थापा । जसकारण २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले कांग्रेससँग सहकार्य गरेका थिए । कांग्रेससँगको साथले पनि उनलाई संसद प्रवेशको बाटो खुलेन । एमालेका कृष्णप्रसाद दाहालसँग थापा करिब ५ हजार मतान्तरले पराजित भएका थिए । त्यसपछिका राजनीतिक घटनाक्रममा थापा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिए ।

उनको प्रमुख उद्देश्य एमालेको साथमा यो निर्वाचन लड्ने देखिन्थ्यो । निरन्तर एमालेसँग नजिक रहेर केपी शर्मा ओलीको प्रशंसामा समय खर्चिने गरेका थापाले अन्ततः सूर्य चिह्नमै टिकट पाए । तर, उनलाई टिकट दिएको भन्दै एमाले मकवानपुरमा ठूलै पराकम्पनसमेत गएको थियो । प्राप्त मतपरिणामअनुसार एमालेको मत पनि राप्रपाका सिंहलाई क्रस भएको छ । जसकारण थापा निरन्तर मतपरिणाममा पछाडि परिरहे ।

अन्ततः थापाले एमालेको साथमा पनि निर्वाचन हारे । जसकारण उनलाई गत निर्वाचनमा कांग्रेस फापेन भने अहिले एमाले । थापाले आफ्नो अन्तिम निर्वाचन भएको भन्दै मत मागेका थिए । उनले प्राविधिक रूपमा निर्वाचन हारे पनि जिल्लाबासीमा उनको इतिहास बन्ने चर्चा भएको छ । थापा उनै हुन्, जसले जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार, व्यवस्थित खानेपानी संरचना निर्माण र भौतिक पूर्वाधार निर्माणमा कामसँगै हेटौँडालाई तत्कालीन समयमै माध्यमाञ्चलको मुकाम र हालको अवस्थामा बागमती प्रदेशको राजधानी बनाए ।

उनी २०५१ देखि हालसम्म ९ पटक मन्त्री बनिसकेका छन् । ८ प्रधानमन्त्रीसँग उनले कार्यकाल चलाएका छन् । २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा पनि उनी थिए । राजतन्त्रदेखि गणतन्त्रसम्म आइसक्दा थापाले सत्ता मोह भने छोडेका छैनन् । तर, जहिल्यै शक्तिमा बस्न रुचाइरहने थापालाई भने आफ्नै जिल्लाका मतदाताले पाँच पटक उठेकोमा चार पटक हार चखाइदिएका थिए ।

चारै पटक एउटै व्यक्ति एमालेका कृष्णप्रसाद दाहालसँग पराजित हुन पुगे । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा थापा पराजित बने । त्यतिबेला मकवानपुर १ मा एमालेका दाहालले थापालाई करिब ५ हजार मतान्तरले हराएका थिए । उनले २०५१ को मध्यावधि निर्वाचनमा भने जिते । २०५६ को आम निर्वाचनमा थापालाई फेरि दाहालले करिब ५ हजार मतान्तरमै हराए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट