हेटौंडा सडक विस्तार विवाद- थपियो अर्को मुद्धा, माघ १८ गते पेशी
हेटौंडा सडक विस्तारसम्बन्धी विवादमा दायर रिटमा लगाउ आदेश जारी भएको छ । पटक पटक हेर्न नभ्याइने र नमिल्ने भन्दै स्थगित पेशी आज सातौ पटक न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा परेको थियो ।
विन्दवासिनी कंसाकार, महारत्न बज्राचार्य लगायत ३ जनाले दायर गरेको मुद्धामा एकै प्रकृतिको अर्को रिट पनि थपिएकाले उक्त मुद्धासमेत जोडेर हेर्न लगाउ आदेश जारी भएको हो । यो संगै हेटौंडा सडक विस्तारविरुद्धको मुद्धा सर्वोच्च अदालतमा चार वटा पुगेको छ । मुद्धाको अर्को पेशी माघ १८ गतेलाई तोकिएको छ ।
आजको सुनुवाइमा विपक्षिको तर्फबाट महान्यायाधिवक्त्ताको कार्यालय र हेटौंडा उपमहानगरपालिकाका अधिवक्ताले बहस गरेका थिए ।
यो मुद्धामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; सडक विभाग पाटनढोका ललितपुर; सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर; संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं; जिल्ला प्रशासन कार्यालय हेटौंडा मकवानपुर; जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा हेटौंडा उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ।
स्थानीयवासी र सरोकारवालाहरूले सडक विस्तार ढिलाइ हुँदा दैनिक आवतजावत, व्यापार व्यवसाय र समग्र शहरी व्यवस्थापनमा समस्या भइरहेको गुनासो गर्दै आएका छन्। आजको पेशीले मुद्दाको दिशा तय गर्ने र सडक विस्तारको भविष्यबारे स्पष्टता आउने अपेक्षा गरिएपनि मुद्धा पुनः लम्बिएको छ ।
प्रकाशित मिति : सोमवार, २०८२ माघ १२, १६ :५६ बजे




















प्रतिक्रिया