हेटौंडामा एकैदिन भत्किए ५ सय बढी घर टहरा, अब व्यवस्थापन गरिने
हेटौंडा बजार क्षेत्रमा शनिबार बिहानदेखि साँझसम्म सडक विस्तार अभियानअन्तर्गत ५१० बढी घर–टहरा भत्काइएको छ। हाल कुल कति संरचना भत्किए भन्ने यकिन तथ्यांक संकलन नभइसकेको भएपनि ५ सय १० बढी संरचना भत्किएका सडक डिभिजन कार्यालयको अनुमान छ । सडक कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा (राइट अफ वे) विस्तार गर्ने नाममा अतिक्रमण गरिएको भनिएका संरचना हटाउन एक दर्जन डोजर प्रयोग गरेको हो।
डिभिजन सडक कार्यालयका अनुसार २१ घर टहराहरु भत्किन बाँकी रहेका छन् । त्रिभुवन राजपथको चौकीटोल क्षेत्रका केहि स्थानमा सडक सीमामा निर्माण भएका घर टहरा हटाउन बाँकी रहेको कार्यालयले जनाएको छ । संरचना घरधनी स्वयमले भत्काउने भएपछि डिभिजन सडक शनिबार फर्किएको थियो ।
सडक डिभिजन हेटौंडाले ५ मंसिरमा १५ दिने म्यादसहित सूचना जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिएको थियो। तर सर्वोच्च अदालतले सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि भोलिपल्टै बिहानैदेखि डोजर परिचालन गरिएको थियो। यसले स्थानीयमा आश्चर्य र आक्रोश उत्पन्न गराएको थियो ।
शनिबार हेटौंडा १५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चौकीटोल ओरालो सम्मका संरचना हरु भत्काइएको थियो । जहाँ सीमा क्षेत्र भित्र पर्ने संरचना भत्काउने क्रममा सीमाभित्र परेका नेपाल राष्ट्र बैंक लिमिटेड, हिमालयन बैंक, र तीन वटा पेट्रोल पम्प भत्किएका छन्। सडक विस्तारका क्रममा बुद्ध चोक, मेनरोड र फरेष्ट्री क्षेत्रका २५ बढी अशोकका बोटहरु समेत मासिएका छन् । शनिबार भत्किएका संरचनाहरूको आइतबारदेखि व्यवस्थापनको काम सुरु गर्ने गरी तयारी थालिएको बताइएको छ ।
सडक विस्तारका क्रममा घर भत्किएका स्थानीयले उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्था माग गर्दै असन्तुष्टि जनाएका छन्। घर भत्किएका स्थानीयले प्रशासनको कदमलाई ‘अन्यायपूर्ण’ भन्दै विरोध जनाएका छन्। धेरै प्रभावितले हातहातमै लालपुर्जा, नक्सापास र कर तिरेको प्रमाण देखाउँदै “कानुनी रूपमा वैध घर भत्काइएको” आरोप लगाएका छन्।
डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले भने सडक विस्तारलाई दीर्घकालीन हितका लागि आवश्यक कदम भएको बताए। उनका अनुसार सडक दायाँ–बायाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउन लामो समयदेखि विवाद हुँदै आएको थियो। यसपटक सडक विस्तारले यातायात सहजता, व्यापारिक गतिविधि र सहरको सौन्दर्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : आइतवार, २०८२ मंसिर २१, १४ :३८ बजे






















प्रतिक्रिया