Techie IT
Hetauda Khabar

मकवानपुरको बालहित विद्यालयमा सरकारी रकमको दुरुपयोग, विद्यालयको पैसा व्यक्तिको नाममा !

लेखा परिक्षणमा मनलाग्दी, विद्यालयमै नभएको सामानको रकम भुक्तानी


मकवानपुरको बालहित प्रथामिक बिद्यालयले सरकारी रकमको दुरुपयोग गर्ने गरेको पाइएको छ ।

जिलाको बकैया गाउपालिका ३ बसनमा रहेको विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षककर्मचारीको मिलेमतोमा विद्यालयको रकम हिनामिना गर्ने गरेको पाइएको हो ।

विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालयको बैंक खातामा रहेको रकम समितिका पदाधिकारीहरुले ब्याजमा चलाएको खुलेको हो । विद्यालयको आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षणबाट विद्यालयको खातामा रहेको ४ लाख ५० हजार रुपैयाँ व्यक्तिले चलाएको थाहा भएको हो ।

विद्यालयकै लेखा परिक्षण प्रतिवेदनमा सरकारी रकमको दुरुपयोग गरी व्यक्तिमा लगानी गरिएको उल्लेख गरिएको छ । पालिका तथा अन्य निकायले सहयोग तथा अनुदान दिएको रकम विद्यालय व्यवस्थापन समितिले निर्णय गरी व्यक्तिमा लगानी गरिएको देखिएको हो । यसरी गैरकानुनि ढंगले सरकारी रकमको दुरुपयोग गर्दासमेत सम्बन्धित निकायले यसबारे खोजीनिती गरेको छैन ।

विद्यालयको रकम व्यक्तिमा लगानी गरेको विद्यालयले स्वीकार गरेको छ । विद्यालयका सूचना अधिकारी जिमी लो ले आफुहरुलाई थाहा नभएकाले व्यक्तिलाई ब्याजमा चलाउन पैसा दिएको बताइन् । उनले यसबारे आफुलाई थाहा नभएकाले विद्यालयको मौज्दात रकम ब्याजमा लगाएको स्वीकारिन्  ।

मनलाग्दी लेखा परिक्षण 

विद्यालयले आफ्नो लेखा परिक्षणसमेत मनलाग्दी ठंगले बनाउने गरेको पाइएको छ । हिसाव मिलानकै लागि मात्र विद्यालयले लेखा परिक्षण प्रतिवेदन बनाउने गरेको तथ्य फेला परेको हो । विद्यालयमा हुँदै नभएका खर्च देखाउने गरेको समेत पाइएको छ ।

विद्यालयमा अन्य थुप्रै शिर्षकहरुको नाममा विद्यालयको रकम दुरुपयोग गर्ने गरिएको छ । विद्यालयमा हुँदै नभएको सामानको खर्च देखाईएको, मनलाग्दी सामान खरिद गरेको, कम्प्युटर तथा ल्यापटप नै नभएको विद्यालयमा इन्टरनेट जोडिएको र वार्षिक नेट शुल्कको नाममा ठुलो रकम भुक्तानी गरिएकोलगायत विद्यालयले सरकारी रकम हिनामिना गर्ने गरेको पाइएको हो ।

थाहा नगरपालिकाको रकम बकैयाको विद्यालयलाई 

यस विद्यालयलाई जिल्लाकोको थाहा नगरपालिकाबाट गत आर्थिक बर्षमा १३ लाख ६० हजार छ सय पचपन्न रुपयाँ निकाशा भएको र आर्थिक बर्ष २०७९/०८० मा सोही नगरपालिकाबाट १६ लाख २५ हजार एक सय नौ रुपयाँ निकाशा भएको बालहित प्रथामिक विद्यालयको लेखा परिक्षण प्रतिबेदनमा उल्लेख भएको छ ।

केशब कुमार अधिकारी एण्ड एसोसिएट्सक लेखा परिक्षक केशब कुमार अधिकारीले तयार गरेको प्रतिबेदनमा थाहा नगरपालिकाबाट उक्त रकम निकाशा भएको उल्लेख गरिएको हो । आर्थिक प्रतिबेदन विद्यालयका प्र.अ सारदा फुयाँल, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल कुमार बि.क ले समेत प्रमाणित गरेका छन् ।

थाहा नगरपालिका संग सिमाना समेत नजोडिएको बकैया गाउपालिकाको विद्यालयलाई यति ठुलो रकम निकासा गरेको लेखा परिक्षण प्रतिवेदनले देखाउदा दुवै गाउँपालिका मौन रहेका छन् ।

एक सरकारी विद्यालयमा यति ठुलो लापरबाही र सरकारी रकमको दुरुपयोग हुँदासमेत सम्बन्धित निकाय भने मौन बसेका छन् । यस विषयमा बकैया गाउँपालिका शिक्षा महाशाखाले कुनै प्रतिक्रिया दिएको छैन भने, शिक्षा समन्वय इकाईले पनि यस विषयलाई चासो दिएको छैन । यसबारे तत्काल सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट