Techie IT
Hetauda Khabar

निशुल्क पाइने औषधिसमेत पाइदैन हेटौंडा अस्पतालमा, बिमाबाट पाइनेलाई पैसा तिर्नुपर्ने


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा सरकारले निशुल्क दिएको औषधिहरु समेत नपाउने गरेको पाइएको छ ।

हेटौंडा अस्पताल प्रशासनको लापरबाहीका कारण सरकारले निशुल्क रुपमा वितरण गर्ने गरेको औषधिसमेत फार्मेसीमा उपलब्ध छैन ।  औषधि अभाव भएपछी केहिदिनदेखि बिरामिले अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्न पाएका छैनन् ।  अत्यावश्यक र बिमाबाट प्राप्त हुने तथा निशुल्क पाइने औषधि नपाउदा आकस्मिक कक्षमा आएका बिरामीले समेत तत्काल उपचार पाउनबाट बन्चित हुने गरेका छन् ।

सरकारले निशुल्क दिएको औषधि सेफट्राजोन, रेजिब भ्याक्सिन लगायतका औषधि हेटौंडा अस्पतालबाट बिरामिले पाउदैनन् । निशुल्क पाइने र बिमाबाट पाइने औषधि अस्पतालले नदिदा बिरामीले सोही औषधि महँगो मुल्यमा बाहिरी मेडिकलबाट खरिद गर्न बाध्य छन् ।

नयाँ भवन बनेपछि केहि समय केही सुधार भएको अस्पताल अहिले पहिलेकै जस्तो भएको उपचारका लागि आउने बिरामीको गुनासो छ । दैनिक ५ सयदेखि ९ सय विरामी आउने अस्पतालमा औषधि भने अधिकांस पाइदैनन् । सामान्य औषधिसमेत अस्पतालमा नहुदा उपचार गर्न आएका बिरामीले उल्टै सास्ती खेप्नु परेको छ ।

त्यस्तै अस्पतालले बिमाबाट पाइने औषधिलाई समेत पैसा तिर्न लगाउने गरेको पाइएको छ । केहिदिन यता स्वास्थ्य बिमा गरेका बिरामीले पाउने औषधिलाई समेत पैसा तिरेर किन्नु पर्ने समस्या अस्पतालमा रहेको छ । बिमाबाट पाउने औषधिलाई किन पैसा तिर्नुपर्ने ? भन्ने बिरामीको प्रश्नमा फार्मेसीका कर्मचारी सफ्टवेयरको समस्या हो भन्दै पन्छिने गरेका छन् ।

‘घन्टौ लाइनमा बसेर औषधि लिने बेला बाहिरबाट लिनुस यहाँ छैन भन्ने जवाफ आउछ, प्रशासनको लापरबाहीको हद नाघेको छ, कुनै औषधि पाइदैन, हेटौंडा-४ का एक बिरामीले आक्रोस व्यक्त गरे ।

आफुले दुर्घटना भएपछी राती ११ बजे घाइतेलाई आकस्मिक कक्षमा ल्याउदा अप्रेसन गर्ने केहीपनि सामग्री अस्पतालको फार्मेसीमा नपाएपछी बाहिरबाट ल्याएको र करिव डेड घण्टा पछीमात्र डाक्टरले आफ्नो बिरामीको उपचार सुरु गरेको हेटौंडा -११ का बिशाल अधिकारीले गुनासो गरे ।

उता यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्याल भने बेखबर छन् । औषधि सकिएकोबारे आफुलाई थाहा नभएको र आफु बाहिर रहेको उनले प्रतिक्रिया दिए । अस्पतालमा खासै समस्या नरहेको मेसु अर्यालको भनाई छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट