Techie IT
Hetauda Khabar

मकवानपुरमा मतदानका लागि सम्पूर्ण तयारी पुरा


मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा मतदान केन्द्रहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भो आइतबार हुने मतदानका लागि आवश्यक पर्ने मतदान केन्द्रमा बुथ निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरु मतदान केन्द्रहरु निर्माणको काम गरिरहेका उनले बताए ।

प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख ७७८ जना मतदाताहरुका लागि १६७ वटा मतदानस्थल र २ अस्थायी सहित ३६४ वटा मतदान केन्द्र तोकीएको छ । मतदानकेन्द्र मध्ये मकवानपुर-१ मा १७२ वटा र मकवानपुर-२ मा १९२ मतदान केन्द्र तोकीएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि ३६६ जना सहायक निर्वाचन अधिकृत र ३६६ निर्वाचन अधिकृत सहित २ हजार ९१८ कर्मचारी परिचालन गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत निरौलाले बताए । उनले मतदान केन्द्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र कुनैपनि सुरक्षा संवेदनशिलता हुन नदिन ४ वटै सुरक्षा निकायलाई सहि ढंगबाट उपयोग गर्न प्रमुख जिल्ला अधिकारी मार्फत् कार्यान्वयन गरिएको बताए ।

निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित तवरले सम्पन्न गर्न जिल्लाको ३६४ वटै मतदान केन्द्रहरुमा राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीसहितको सुरक्षा व्यवस्थापन मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

जिल्लाका कुल मतदान केन्द्रहरु मध्ये १९ वटालाई सुरक्षा संवेदनशिलताको आधारमा अति संवेदनशील, ६० वटा संवेदनशील र अन्यलाई सामान्यमा राखेर सोही अनुसार पहिलो सुरक्षा घेरमा जनपथ प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना गरी ३ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको बताए । निर्वाचनमा हुने अपराधिक घटनालाई मध्येनजर गर्दै आवश्यकताको आधारमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालन गरिएको उनको भनाई छ ।

जिल्लाका सबै मतदान केन्द्रका सवारी साधनको सहज पहँच रहेकोले कुनै पनि प्रकारका सुरक्षा चुनौतिच नरहेको र हरेक मतदान केन्द्रमा ४ वटै सुरक्षा संयन्त्रहरु परिचालन गरिसकेको उनले बताए । मतदान पछि मतपेटीका ढुवानीको लागि पनि उचित व्यवस्था सहित सुरक्षा संयन्त्र परिचालन गरिएको उनले बताए । उनका अनुसार जिल्लाका ७ वटा मतदान केन्द्रबाट मतपेटीका छिमेकी जिल्ला हुँदै ढ्वानी गर्नुपर्ने भएकाले त्यसको लागि पनि व्यवस्थापन भइसकेको छ । मकवानपुुरको बकैया गाउँपालिकाको २ वटा केन्द्रबाट रौतहट र बारा तथा राक्सिराङ गाउँपालिकाको ५ वटा केन्द्रको मतपेट्रीका चितवनको भण्डारा हुँदै ढुवानी गर्नु पर्ने अवस्था रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था गरिएको उनले बताए ।

यस निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ गरी ६ वटा निर्वाचन क्षेत्रका लागि कुल ६९ जना उम्मेदवार रहेका छन् । जसमा प्रतिनिधिसभा तर्फ प्रत्यक्षबा लागि मकवानपुर-१ मा १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने मकवानपुर-२ मा १० जना रहेका छन् । प्रदेशसभा तर्फ मकवानपुर ४ क्षेत्रका लागि ४३ जना उम्मेदवार रहेका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट