Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगद्वारा सयौं रुख फडानी, वडा अध्यक्षदेखि बन कार्यालयसम्मको मिलेमतो

रिद्दिसिद्धि सिमेन्ट उद्योगलाई कारबाही गर्न आलटाल गर्दैछ सरकारी निकाय


डिभिजन बन कार्यालय मनहरीसहितको मिलेमतोमा हेटौंडा उपमहानगरपालिका- १५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले अबैधरुपमा सयौं रुखहरु फडानी गरेको पाइएको छ ।

ADVERTISEMENT

जिल्लाको राक्सिराङ्ग  गाउँपालिका वडा नम्बर ४ स्थित किन्दुरांगमा उद्योगले संचालन गरेको खानि जाने बाटो विस्तार गर्नका लागि हरियो सालका रुखहरु काटेको पाइएको हो । रुख फडानी गरी बाटो चौडा कार्य भैरहदा सम्बन्धित निकायले भने देखे नदेखे झैँ गरेको छ ।

ADVERTISEMENT

४ नम्बर वडा अध्यक्ष, सब डिभिजन बन कार्यालय, डिभिजन बन कार्यालय मनहरी र बन समितिलगायतको मिलेमतोमा सयौ सालका रुख फडानी गरिएको स्थानीयको आरोप छ । पन्चकालिका सामुदायिक बन अन्तर्गत पर्ने सो बाटो सिमेन्ट उद्योगको खानी जाने बाटो रहेकाले अबैधरुपमा त्यहाँका रुख उद्योगले फडानी गरेको स्थानीयले बताएका छन् । उद्योगले गत कार्तिकदेखि सालका रुख फडानी गरी एक्साभेटर प्रयोग गरेर सडक फराकिलो पारिरहेको छ ।

लगातार रुख फडानी गरेपछी डिभिजन बन कार्यालयमा उजुरीसमेत परेको पाइएको छ, तर बन कार्यालयले कुनै चासो नदिएको स्थानीयले बताएका छन् । उजुरी परेपछी बन कार्यालयबाट अनुगमन गर्न जाँदा २ वटा एक्साभेटरसमित बाटो निर्माणको काम र रुख फडानी भएको भेटाएपनि कसैलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । यसबारे डिभिजन बन कार्यालय मनहरीले अनुसन्धान भैरहेको छ भन्दै आलटाले जवाफ दिएको छ ।

ADVERTISEMENT

उता रिद्धिसिद्धि सिमेन्ट उद्योगकाले भने उक्त बाटो बिस्तारबारे आफु जानकार नभएको भन्दै झुट बोलेको छ । उद्योगकै खानि जाने बाटो चौडा पार्न सालका रुखहरु काटी एक्साभेटर प्रयोग गरिरहदा यसबारे बुझ्न खोज्दा उद्योगले आफु जानकार नरहेको बताएको हो ।

बन मासेर आफ्नो सिमित स्वार्थकालागि राज्यको सम्पती ध्वस्त पार्ने हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई कुनैपनि सरकारी निकायले उन्मुक्ति दिन खोज्नुमा सबै निकायको उद्योगसंग मिलेमतो छ भन्ने स्पस्ट देखिएको छ ।

उपस्थित हुन बनको ताकेता

बाटो बिस्तारको क्रममा रुख काटिएको उजुरी परेपछी डिभिजन बन कार्यालय मनहरीको टोलीले अनुगमनसमेत गरेको थियो । अनुगमनका क्रममा रुख फडानी भएको र एक्साभेटर प्रयोग गरी बाटो बिस्तार गरिरहेको भेटिएको थियो । अनुगमनका क्रममा २ वटा सवारीसाधन नै फेलापर्दासमेत बन कार्यालयले उक्त सवारीलाई कुनै कारवाही नगरी छोडेको पाइएको छ ।

उता उद्योगले मनलाग्दी ढंगले रुख फडानी गरेपछी बन कार्यालयले गत मङ्सिर ८ गते उक्त बाटो उद्योगले बनाएको हो होईन ? कसको अनुमतिमा बाटो बिस्तार गरिएको हो ? बाटो कुन बिधि र प्रक्रियाले बनाइएको हो भन्दै २ दिन भित्रमा विवरणसहित उपस्थित हुन पत्र काटेको थियो ।

यसबारे उद्योगले आफ्नो लगानीमा बाटो बिस्तार नभएको र यसबारे आफु अनविज्ञ रहेको भन्दै सफेद झुट बोल्ने गरेको छ ।

कारबाही गर्न आनाकानी

उता अनुगमनका क्रममा रुख काटिएको भेटिएपछी कानुनि प्रक्रिया अघि बढाउन डिभिजन बन कार्यालय मनहरीले सब डिभिजन राक्सिराङ्गका बन अधिकृत दिनेश सत्याललाई अनुसन्धान अधिकृत तोकेर प्रतिवेदन पेश गर्न भनेको थियो । तर लामो समय भैसक्दा पनि उद्योगलाई कुनैपनि कारबाही प्रक्रिया अघि बढाईएको छैन । अनुगमन कै क्रममा सवारीसाधन फेला पर्दासमेत बन कार्यालयले नियन्त्रणमा लिनुपर्ने सवारी त्यसै छाडिएकोको छ भने, यतिका दिनसम्म कुनैपनि प्रक्रिया अगाडी बढाएको छैन । डिभिजन बन कार्यालय मनहरीले भने यो विषयमा आलटाले जवाफ दिदै आइरहेको छ । विभिन्न प्रक्रिया मिलाउनुपर्ने भएकाले ढिला भएको र मुद्धा चलाउने तयारी भैरहेको डिभिजन बन कार्यालय मनहरीका प्रमुख लोकराज नेपालले बताएका छन् ।

उनले यसो भनेको महिनौं भएपनि कानुनि प्रक्रिया भने अगाडी बढाईएको छैन ।

यसले उद्योगले गरेको गैरकानुनी कामलाई ढाकछोप गर्ने र मुद्धामा नगई यो विषय सामसुम पार्ने योजनामा सम्बन्धित निकाय रहेको सरोकारवालाको आरोप छ ।

बन समिति अध्यक्ष भन्छन् जानकारी भएन

उता पन्चकालिका सामुदायिक बन समितिका अध्यक्ष राज लामाले भने बाटो स्तरुन्नती गर्ने सुनेपछी आफुले रोक्ने प्रयास गरेको बताए । उनले उक्त बाटो रिद्दिसिद्धि सिमेन्ट उद्योगले नै खानि जानका लागि बनाइरहेको बताए । आफ्नो क्षेत्राधिकारमा पर्ने बनको बाटो बनाउदासमेत आफुलाई कसैले जानकारी नगराएको उनको भनाई छ ।

‘पहिले राक्सिराङ्ग गाउँपालिकाको बजेटले सडकको स्तरुन्नती गरेको भनेपनि पछी उद्योगको खर्चमा आफ्नो खानि जानकालागी चौडा पारिरहेको थाहा पाए, अरु मलाई केही जानकारी भएन सर’, उनले हेटौंडाखबर संग भने ।


प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन ८, १५ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट