Techie IT
Hetauda Khabar

जनमतको सधै सम्मान गर्नेछु- आनन्दराम पराजुली


सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मतदाताको मतको सधै सम्मान गर्ने र शिर निहुरिने काम कहिल्यै नगर्ने बताएका छन् ।

चुनावी अभियानको क्रममा मंगलबार हेटौंडा ८ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा उनले जनताको मतको सधैं सम्मान गर्दै जनताकै चाहना बमोजिम साझा भएर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘म बर्षौंदेखि जनताको साथमा रहेर नेपाली कांग्रेसको राजनीति गर्दै आएको छु । मकवानपुरबासीलाई परेको समस्यामा सकेसम्म साथै छु’, उनले भने, ‘राजनीतिलाई सेवा बनाएर जिल्लाको विकास र समृद्धिको अभियानमा लागिपरेको छु । यहाँको सम्भावना देखेको छु, विकासको योजना बनाएको छु ।’

मकवानपुर प्रदेश राजधानी भएपनि यहाँको भौतिक पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकोले स्थानीय र प्रदेश सरकारसंगको समन्वयमा केन्द्र सरकारबाट बजेट ल्याएर काम गर्ने योजना रहेको सुनाए । यसअघि जितेर गएकाहरु मतदाताकोमा फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले गठबन्धन दलका उम्मेदवारले यस्तो गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

यसअघि पटक पटक जितेको एमालेले देखिने काम केही गर्न नसकेको पराजुलीको भनाई थियो । ‘पटक पटक जितेर पनि केही कामै नगरेका एमालेका साथीहरु फेरि प्रलोभन र आश्वासनको पोको लिएर जनता झुक्याउन आएका छन् । कुनै योजना नै नभएपछि गठबन्धनको विरुद्ध अनेक अफवाह फैलाइरहेका छन्’, पराजुलीले भने, ‘नेपाली जनताले अब सबै कुरा बुझिसकेका छन् । जनमतको अपमान गर्ने एमालेलाई भोट दिनेछैनन् ।’

निर्वाचन पश्चात पनि सबैको साझा भएर जनताकै माझ रहेर काम गर्ने उनले प्रतिबद्धता जनाए ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट