Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

म्याद सकिएको औषधि भेटिएको चुरेहिलको फार्मेसीको ताला रातारात खोलियो, उपभोक्ता मंच भन्छ- मिलेमतोको शंका लाग्यो


म्याद गुज्रिएको औषधि फेला परेको हेटौंडाको चुरेहिल अस्पतालको औषधि पसलमा अनुगमन टोलीले लगाएको ताला जिल्ला प्रशासन कार्यालयको आदेशमा रातारात खोलिएको छ ।

ADVERTISEMENT

एकीकृत अनुगमन टोलीले गत बिहिबार हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा अनुगमन गरेको थियो अनुगमनको क्रममा अस्पतालमा संचालन रहेको फार्मेसीमा ५ वर्षदेखि म्याद सकिएका औषधि र सर्जिकल सामग्री फेला परेको थियो । फार्मेसीको दर्ता, संचालन अनुमति नरहेको, फार्मेसीको संचालक को हो थाहा नभएको, म्याद गुज्रिएको औषधि भेटिएकोलगायतका लापरबाही भेटिएपछी अनुगमन टोलीले फार्मेसीमा ताला लगाएर फर्केको थियो ।

ADVERTISEMENT

तर शुक्रबार साझ जिल्ला प्रशासन कार्यालयले फार्मेसीमा लगाइएको ताला खोलेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार फार्मेसी संचालन अनुमति पत्र ल्याएकाले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताला खोलिएको हो ।

औषधि व्यवस्था विभाग बिरगंजबाट दर्ता,अनुमति ल्याएकाले ताला खोलिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

उता ताला खोलिएको विषयमा उपभोक्ता हित संरक्षण मंचले आपत्ति जनाएको छ । जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने औषधि पसललाई त्यसै उन्मुक्ति दिन खोज्नु प्रशासनको अर्को ठुलो लापरबाही भएको मंचका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले बताए ।

‘दर्ता गरेर आउदैमा म्याद गुज्रिएको औषधि ठुलो मात्रामा फेला परेको पसलमा थप चेकजाँच र अनुसन्धान नगरी रातारात ताला खोल्न लागिपर्नुले प्रशासनको मिलेमतो रहेको भनि शंका गर्ने आधार बनेको छ’, यसको हामी विरोध गर्छौं, उनले भने ।

प्रशासनले उक्त फार्मेसीमा म्याद सकिएको औषधि अझै कति मौज्दात छ, ५ वर्ष अघिदेखि म्याद सकिएको औषधि कसरि बिक्रीवितरण गरिदै छ भन्ने थप चेकजाँच नगरी औषधि पसल संचालन गर्न अनुमति दिएको छ । दर्ता गरेर आएकै भरमा औषधि पसलमा भएका म्याद गुज्रिएका औषधिबारे प्रशासन मौन बसेको छ ।

नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था गरिएको छ। संवैधानिक हकको प्रभावकारी प्रचलनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भएको छ। यस ऐनमा उपभोक्तालाई हानी पुर्‍याउने वस्तु तथा सेवाको बिक्रीबाट सुरक्षित हुने कानुनी अधिकार रहेको छ भनि उल्लेख गरिएको छ । तर अधिकार हनन् मात्र नभई मानव स्वास्थ्यमा नै गम्भीर खेलवाड हुँदासमेत प्रशासनले औषधि पसललाई उन्मिक्ती दिएको छ ।

२०७५ चैतमा संशोधित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ मा झुक्याई बिक्रीवितरण गरिनेमाथि सजायको व्यवस्था गरिएको छ । उपभोक्ता संरक्षण ऐनको दफा १६ (क) मा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल ढाँचा वा बनावट ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने कामलाई निषेधित कामको सूचीमा राखिएको छ । तर म्याद गुज्रिएको औषधि फेला पर्दा जिल्ला प्रशासन कार्यालयले कुनै दण्डसजाय गर्न सकेको त छैन नै, औषधि पसलमा म्याद सकिएका औषधिको खोजतलास र जफतसमेत गरेको छैन ।


प्रकाशित मिति : शनिबार, २०७९ चैत्र १८, २२ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट