Techie IT
Hetauda Khabar

हेटौंडाको सहकारी अस्पतालमा प्रशासनको अनुगमन, मापदण्ड विपरित रहेको ठहर

अनुगमन टोलीद्वारा क्षमता भन्दा बढी बेड राखिएको कोठामा ताला


हेटौंडाको मकवानपुर सहकारी अस्पतालमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।

संचारमाध्यममा अस्पताल मापदण्ड विपरित संचालन रहेको भन्ने समाचार प्रकाशित भएपछी एकीकृत बजार अनुगमन समितिले आज अस्पतालको अनुगमन गरेको हो । मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको नेतृत्वको अनुगमन टोलीले अस्पताल मापदण्ड विपरित रहेको भेटेको छ ।

अस्पतालले २५ शैयाको अनुमती लिएर क्षमता भन्दा बढी ५८ वटा बेड संचालन गरिरहेको अनुगमन टोलीले भेटेको हो । त्यस्तै भवन मापदण्ड विपरित रहेको, बिरामी मैत्री रअपाङ्ग मैत्री नरहेको, अस्पतालले सरसफाइमा ध्यान नदिएको लगायत थुप्रै कमजोरी भेटिएको अनुगमन टोलीले बताएको छ ।

अस्पतालले क्षमता भन्दा बढी संचालन गरेको २६ वटा बेड संचालन गर्न नपाउने भन्दै ताला लगाएको छ । अनुगमन टोलीले अस्पतालको क्याबिन, वार्ड लगायतका कोठामा ताला लगाईदिएको छ । नियमानुसार अस्पतालको क्षमाता वृद्धि गरेपश्चात मात्र संचालन गर्न पाउने गरी हाल २५ वटा मात्र संचालन गर्न अस्पताल प्रशासनलाई अनुगमन टोलीले निर्देशनसमेत दिएको छ ।

साथै अस्पतालको भवन, पार्किङ, प्रयोगशाला, कोठा, पतिक्षालय,लगायत थुप्रै मापदण्ड नपुगेका विषयमा भने प्रशासनले सुधार गर्न निर्देशन मात्र दिएर छोडेको छ । तत्काल ति विषयमा सुधार नभए अर्को पटक अस्पताल बन्द गर्ने चेतावनी आजको अनुगमन टोलीले दिएको छ ।

त्यस्तै हेटौंडाको सिटी अस्पतालमा पनि प्रशासनले अनुगमन गरेको छ । सो अस्पतालले पनि २०७४ सालदेखि नवीकरण नगराई सेवा संचालन गरिरहेको भेटिएको छ । सिटी अस्पताललाई एक हप्ता भित्र सम्पूर्ण मापदण्ड पुर्याई संचालन अनुमति लिन निर्देशन दिइएको छ । सो अस्पतालको आकस्मिक कक्षमा राखिएको मापदण्ड विपरितमा बेड अनुगमन टोलीले हटाएको छ ।

अनुगमन टोलीमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मन्च, हेटौंडा अस्पताल, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मकवानपुरका निजि अस्पतालहरु मापदण्ड विपरित संचालन भैरहेकाले कारवाही गर्नका लागी उपभोक्ता हित संरक्षण मंच मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणसमेत गराएको थियो ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #अनुगमन, #अबैध, #जिल्ला प्रशासन कार्यालय मकवानपुर, #मकवानपुर सहकारी अस्पताल

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट