Techie IT
Hetauda Khabar

शैक्षिक गुणस्तर सुधार गर्न हेटौंडामा हेडमास्टरसंग अन्तरक्रिया


सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई हेटौंडाको आयोजनामा गरिएको अन्तरक्रियामा प्रधानाध्यापकका सम्बन्धमा ऐन, नियमावली, नीतिमा भएका ब्यवस्थाहरु, विद्यालयमा देखिएका चुनौती, विद्यालय शिक्षाको गुणस्तर सुधारका उपायहरुका बारेमा छलफल गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दिनानाथ गौतमको सभाध्यक्षता र जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले पाठ्यक्रममा आधारित शिक्षणमा जोड दिन आग्रह गरेका थिए । विद्यालयमा विद्यार्थी केन्द्रित सिकाईलाई केन्द्रबिन्दु मानेर प्रबिधिमैत्री पठनपाठन जरुरी रहेको बताइएको छ ।

कार्यक्रममा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु नै सक्रिय भएको खण्डमा सुधार ल्याउन सकिने बताए । अन्तरक्रियामा शिक्षा क्षेत्रमा काम गरी सेवानिबृत्त डा. तोयानाथ खनालले सहजीकरण गरेका थिए ।

राट्रिय शिक्षा नीति २०७६, विद्यालय शिक्षासम्बन्धी नीतिगत चुनौती, विद्यालय शिक्षामा सुधारका उपायका बारेमा डा. खनालले बिभिन्न जिल्लामा भएका अभ्यासका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा डिभिजन बन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले संरक्षण शिक्षासम्बन्धी डिबका राप्ती, मनहरीले प्रकाशन गरेको पुस्तकका बारेमा जानकारी दिंदै सो पुस्तकलाई सबै विद्यालयमा पठनपाठन गर्न आग्रह गरेका थिए । मकवानपुरलाई सालकको जिल्लाका रुपमा परिचित गराउन र सालक संरक्षणमा बालबालिका मार्फत् अभिभावकसम्म जानुपर्ने आचार्यले बताए ।

मन्त्रीपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयका उपसचिव बद्री पाठक, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिकाका शिक्षा प्रमुख गंगाधर रिमाल, मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट