Techie IT
Hetauda Khabar

बागमती सरकारले बुधबार पुर्णता पाउने, समाजवादी र हानेपालाई किक आउट


बागमती प्रदेश सरकारले बुधबार पुर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पुर्णता दिने निर्णय गरेको हो ।

बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत  गरेको छ । गत पुस २६ गते पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए ।

प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो । बुधबार सरकारलाई पूर्णता दिन मन्त्रिपरिषदमा ८ जना मन्त्री नियुक्त गरिने सरकारका प्रवक्ता जगन्नाथ थपलियाले बताए । दलहरु भित्र आन्तरिक छलफल गरी बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथ तय गरिएको सरकारका प्रवक्ता थपलियाले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेशमा नेकपा एमालेले ५, माओवदीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ ।

५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीलाई सहभागि नगराइने भएको छ । प्रदेश सरकारमा माओवादी केन्द्र, एमाले र राप्रपा मात्र सहभागि हुने भएका छन् । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई ति दुवै दलको समर्थन दिएका थिए । ७० सांसदको समर्थन पाएका माओवदी केन्द्र संसदीय दलका नेता जम्कट्टेल मुख्यमन्त्रीमा दावी गरेका थिए । जम्कट्टेललाई  नेकपाका ७ जना र हाम्रो नेपालीका २ सांसदले समर्थन सहित विश्वासको मत समेत प्रदान गरेको थियो । सभामुख तथा उपसभामुख चयनमा समेत सत्तारुढ गठबन्धनकै उम्मेदवारलाई हाम्रो नेपाली पार्टीले मतदान गरेको थियो ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट