Techie IT
Hetauda Khabar

हेटौंडामा चलचित्र पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न


मकवानपुर, ८ माघ । हेटौंडामा आयोजित चलचित्र पत्रकार संघ नेपालको पहिलो राष्ट्रिय भेला औपचारिक रूपमा सम्पन्न भएको छ। भेलाले चलचित्र पत्रकारीता क्षेत्रका विभिन्न पक्षका व्यक्ति तथा संस्थाहरूलाई एक साथ ल्याउन सफल भयो।

भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मी नरेन्द्र महर्जन, पत्रकार शान्तिप्रिय लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिएका थिए। समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए। उनले भने, ‘चलचित्रले समाजको विद्यमान अवस्था झल्काउँछ। गरिखाने वर्गाको पक्षमा चलचित्रले भूमिका खेलेको देखिन्छ।’

उनले विगतमा चलचित्र विकास बोर्डको तत्कालिन अध्यक्षसँग दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहल सहित बजेट विनियोजन गरेको बताए। तर, विविध कारणले हुन नसकेको उनको भनाई छ। अहिले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको छ।

चलचित्र ऐन बनाउन सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको मुख्यमन्त्रीले बताए। आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले सो विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको उनको भनाई छ। मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वयन परिषदको बैठकमा पेश गरिएको र पत्रकारहरुको सामाजिक सुरक्षा कोषमा सहभागि गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेश संचार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम संचालन गरी सहयोग गरिने बताए । विद्यागत पत्रकारितालाई प्रोत्साहन गर्न एक महिनाभित्र हातेपुस्तक सहित एप्रिसेशन कार्यशाला संचालन गर्ने सरकारको तयारी रहेको समेत रजिष्ट्रार सापकोटाले बताए ।

भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएका थिए। चलचित्र संवाद, अन्तरक्रिया, कार्यशाला लगायतका कार्यक्रम पनि भएका थिए।  भेलाका आयोजक चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने बताएका थिए। त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा उनको जोड थियो ।

चलचित्र पत्रकारिता क्षेत्रको विकासका लागि नीति, कानुन र कार्यक्रमका बारेमा छलफल भएको छ। चलचित्र पत्रकार संघको यो भेलाले चलचित्र क्षेत्रको विकासका लागि एक महत्वपूर्ण कदम चालेको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट