Techie IT
Hetauda Khabar

फागुन १५ मा बागमती प्रदेशसभा आह्वान


हेटौंडा । बागमती सरकारले प्रदेशसभा बैठक १५ फागुनमा आह्वान गर्न सिफारिस गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हिउँदे अधिवेशन १५ फागुनमा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षका सांसदका योजना समावेश गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा २२ असोजदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । चालू आर्थिक वर्षको बजेट २२ असारमा पास गरेपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

त्यसपछि १८ भदौमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो । २४ र ३० भदौ, १४, १५, २२ असोजमा बसेपछि प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।

त्यस्तै बैठकले हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रदेश उच्च शिक्षा ऐन २०७८ बमोजिम विश्वविद्यालय स्थापना तथा सञ्चालनको विधान स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रवृत्ति बापतको २ करोड १० लाख रुपैयाँ थप बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले विशेष पद तोक्ने सम्बन्धमा समेत निर्णय गरेको छ । प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवा ऐन २०७९ अनुसार ११ औँ तह (सचिव) पदमा समूह नरहने व्यवस्था गरेको छ ।

बैठकले काभ्रेको नमोबुद्ध नगरपालिकालाई झोलुंगे पुल निर्माणका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

विपन्न दलित सशक्तीकरण कार्यविधि पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ भने सामाजिक विकास मन्त्रालयबाट प्रस्ताव पेस भएको शिक्षा नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका स्वीकृत गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट