Techie IT
Hetauda Khabar

आजदेखि मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मीखोला-मातातीर्थ-सतुङ्गल सडक बन्द


हेटौंडा, १ फागुन । मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी-महालक्ष्मीखोला-चखेल-देउराली-मातातीर्थ-सतुङ्गल स्तरोन्नतिका लागि मङ्गलबारदेखि बन्द हुने भएको छ ।

उक्त सडक मङ्गलबारदेखि एक साताका लागि पुनः बन्द गरिने भएको हो । महालक्ष्मी-दोभान-घट्टेखोला-चखेल-देउराली-मातातीर्थ-सतुङ्गल सडकको मातातीर्थ सडकखण्डको धारापानी नजिक साँघुरो सडकछेउ टेवा पर्खाल लगाउने काम भइरहेकोले बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए ।

उनले सवारीसाधन आवतजावतका कारण काम गर्न असहज भएको भन्दै फागुन १ गतेदेखि फागुन ७ गतेसम्म सो सडक खण्डमा दिउँसोको समयमा आवागमन बन्द गरिएको जानकारी दिए । उक्त सडक भएर आवतजावत गर्ने सवारी साधनले धारापानी नजिकको सडक खण्डमा बिहान ७ बजेभित्र पार गरिसक्नुपर्ने र बेलुका ६ बजेपछि मात्र आवतजावत गर्न सकिने गरी व्यवस्था गरिएको छ ।

उनले वैकल्पिक बाटोको रूपमा चित्लाङ-चन्द्रागिरी–थानकोट सडक प्रयोग गर्न सवारीधनीहरुलाई आग्रह गरेका छन् । योसँगै सडक स्तरोन्नतिकै क्रममा मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दूरीको तीनवटै मार्गमा सवारी आवागमन बन्द भएको छ । उता कुलेखानी-चित्लाङ-थानकोट सडक र कान्ति लोकपथ भने सुचारु अवस्थामा रहेका छन् ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट