Techie IT
Hetauda Khabar

बागमती प्रदेशको राष्ट्रिय सभा निर्वाचन तयारी अन्तिम चरणमा


हेटौंडा । आसन्न राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्था लगायतको तयारी पूरा भएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा हुने निर्वाचनका लागि एक मतदान स्थल र दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी निर्वाचन अधिकृतको कार्यालयले व्यवस्था मिलाएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले राष्ट्रिय सभा निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।

उनले मतदान अधिकृत र निर्वाचनमा खटिने कर्मचारीलाई सोमबार अनुशिक्षण दिएको र यसअघि सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर सुरक्षा व्यवस्थाको तयारी गरिएको बताए । बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदै छ ।

यस प्रदेशमा चार जना राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चाररचार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा ९माओवादी केन्द्र० र नेकपा (एकीकृत समाजवादी)ले एकरएक जना गरी १५ जना उम्मेदवार रहेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा यस प्रदेशबाट मतदान गर्ने मतदाता ३४७ जना रहेका छन् । तीमध्ये ११० जना प्रदेश सभा सदस्य र ११९ स्थानीय तहका प्रतिनिधि छन् । स्थानीय तहका मतदाता २३८ हुनुपर्नेमा दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षको पद रिक्त हुँदा स्थानीय तहबाट २३७ मतदाता मात्र कायम भएको छ ।

निमित्त निर्वाचन अधिकारी आचार्यले मतदानका लागि मतपत्र आइसकेको, प्रदेश सभा सदस्य र नगर प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतपत्रको व्यवस्था रहेको बताउँदै मतदानका दिन आवश्यक निर्वाचन सामग्रीहरूको व्यवस्था भइरहेको बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ । मतदान सकिएपछि मतदान स्थलमा नै मतगणना गर्ने व्यवस्था मिलाइएको निमित्त निर्वाचन अधिकारी आचार्यले भने, “मतगणनालगत्तै मतपरिणाम सार्वजनिक गरिने छ ।”


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट