Techie IT
Hetauda Khabar

हेटौंडा सिमेन्ट चार महिनादेखि बन्द


हेटौंडा । आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् ।

उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।

हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा क्रियाशील अखिल नेपाल औद्योगिक मजदुर सङ्गठन एकाइ समिति उद्योगको उत्पादन सुचारु गर्न र उद्योग व्यवस्थित रूपमा सञ्चालन गर्न माग गर्दै आन्दोलनमा उत्रिएको हो ।

सङ्गठनका अध्यक्ष दीपकसिंह थोकरले उद्योग बन्द हुँदा थप समस्या आउने भएकाले नियमित सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो । उहाँले कच्चा पदार्थ उद्योग व्यवस्थापनले समयमा आपूर्ति गर्न नसक्दा उद्योग बन्द गर्ने अवस्था सिर्जना भएको र उद्योग प्रशासनले राम्रो व्यवस्थापन नगर्दा उत्पादित सिमेन्टसमेत बिक्री नभएको बताए ।

गत असारमा कोइला अभाव र सिमेन्ट बिक्री नहुँदा उत्पादन बन्द भएको उद्योग भदौबाट असोजको मध्यसम्म सञ्चालनमा आएर कच्चा पदार्थ अभावमा पुनः बन्द भएको थियो ।


क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट