Techie IT
Hetauda Khabar

हेटौंडा उपमहानगरको संशोधित बजेट ३ अर्ब नजिक


हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटको आकार वृद्धि गरेको छ।

चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार रुपैयाँ वृद्धि गरेर दुई अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपैयाँ पुर्‍याएको छ।

यसअघि गत असारमा नगरसभाले दुई अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेटमा पारित गरेको थियो। शनिबार १४औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले संशोधनसहितको बजेट पेस गरेका थिए।

सभाले संशोधित बजेट पारित गरेको छ। उपप्रमुख बानियाँले आन्तरिक राजस्व संकलनमा देखिएको प्रगतिको आधारमा चालू आर्थिक वर्षको बजेट संशोधन गरी वृद्धि गरिएको बताए।

प्रमुख बानियाँका अनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आयतर्फ संघीय सरकार समानीकरण तथा ससर्त अनुदानतर्फ ५५ करोड २३ लाख ३५ हजार रुपैयाँ, समपूरक अनुदानतर्फ २३ लाख ७५ हजार रुपैयाँ, विशेष अनुदान ८७ लाख ५० हजार हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, ससर्त र समपूरक अनुदान गरी पाँच करोड ६४ लाख ६९ हजार रुपैयाँ प्राप्त भएको छ।

यस्तै, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ ११ करोड ११ लाख ४८ हजार रुपैयाँ, उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा अल्या आम्दानीसमेत गरी हालसम्म जम्मा ७४ करोड २ लाख ५ हजार रुपैयाँ प्राप्त भएको उनले बताए।

चालू आर्थिक वर्षको ६ महिनाको राजस्व संकलन लक्ष्यअनुसार भइरहेको जानकारी दिँदै उपप्रमुख बानियाँले चालू आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा १५ पुससम्म १५ करोड ४५ लाख रुपैयाँ रकम संकलन भएको बताए।

उनले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्ष आठ प्रतिशतले राजस्व संकलन वृद्धि भएको उल्लेख गरे।

उपप्रमुख बानियाँले पूर्वाधार क्षेत्रतर्फ नगरस्तरीय ६२ आयोजना र वडास्तरीय नौ सय ५६ आयोजना गरी जम्मा एक हजार ११८ योजना रहेकोमा नगरस्तरीय १५ वटा आयोजना र वडास्तरीय दुई सय १७ वटा योजना सम्झौता भएको जानकारी दिए।

सम्झौता भएका योजनामध्ये ३२ वटा सम्पन्न भएको र अन्य नौ सय ८६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका योजनाहरुमध्ये एक सय १० वटा योजनाहरू सम्पन्न भइसकेका छन् भने ६१ वटा सम्पन्न हुने क्रममा रहेका उल्लेख छ।

यस्तै, पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगतितर्फ प्रथम चौमासिकमा कंक्रिट सडक दुई किलोमिटर तथा तीन सय ५५ मिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको जानकारी दिए।

यस्तै, एउटा शैक्षिक पूर्वाधार, सांस्कृतिक जगेर्नातर्फ दुईवटा गुम्बा, पाँचवटा मन्दिर, एउटा मदरसा र एउटा यात्रु प्रतिक्षालय निर्माण सम्पन्न भएको उपप्रमुख बानियाँले बताए।

नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको १४औँ नगरसभाले स्थानीय समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन लघु उद्यमीले उत्पादन गरेका गुन्द्रुक, मस्यौरालगायतका खाद्यपदार्थलाई ब्रान्डिङ गरी बजारीकरण गर्ने र स्थानीयस्तरमा उत्पादन हुने मौलिक तथा रैथाने कृषि उपजलाई प्रवर्द्धन गर्न होटेल एसोसिएसनसँग समन्वय गरी नगरका सबै होटेलका खाना सूचीमा समावेश गराउने प्रस्ताव पारित गरेको छ।


क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट